म्यान्चेस्टरको सर्वाधिक फराकिलो जित

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाईटेडले साउथह्याम्पटनलाई ९–० ले हराएको छ । प्रिमियर लिगको इतिहासमा म्यान्चेस्टर युनाईटेडले सर्वाधिक फराकिलो जितको किर्तीमान बराबरी गरेको हो ।

गएराती आफ्नै मैदानमा भएको खेलमा म्यान्चेस्टर युनाईटेडका लागि एन्टोनी मार्टियलले दुई गोल गर्दा आरोन वान बिसाका, ब्रुनो फर्नान्डेज, एडिन्सन काभानी, मार्कस रास्फोर्ड, स्कट म्याक्टोमनी र डेभिड जेम्सले एक एक गोल गरे।

साउथह्याम्पनका बेड्नारेकले एक आत्माघाति गोल गरेका थिए । जितसँगै म्यान्चेस्टर युनाईटेडले शिर्ष स्थनको म्यान्चेस्टर सिटीसँग अंक बराबरी गरेको छ । २२ खेलबाट म्यान्चेस्टर युनाईटेडको ४४ अंक भएको छ भने दुई खेल कम खेलेको म्यान्चेस्टर सिटीको पनि ४४ अंक नैं रहेको छ ।

प्रिमियर लिगमा गएराती वुल्भरह्याम्पटन वान्डरर्सले आर्सनललाई २–१ ले हरायो । डिफेन्डर लुइज र गोलरक्षक लेनोले रातो कार्ड खाएपछि ९ जनामा समेटिएको आर्सनल खेलमा फर्किन सकेन ।

वुल्भरह्याम्पटनको जितमा रुबेन नेभेस र हुवाँ मौटिनोले एक एक गोल गरे । आर्सनलका लागि निकोसल पेपेले पहिलो गोल गरेका थिए । प्रिमियर लिगकै अन्य खेलहरुमा शेफिल्ड युनाईटेडले वेष्ट ब्रोमलाई २–१ ले हराउँदा क्रिष्टल प्यालेसले न्युकासल युनाईटेडमाथि २–१ को जित निकाल्यो ।

तपाईको प्रतिक्रिया