भोलिबाट हिमपात र वर्षाको सम्भावना (हेर्नुहोस् देशभर कहाँ के हुनेछ)

काठमाडौं । मौसमविद् समिर श्रेष्ठका अनुसार दिउँसो काठमाडौंको तापक्रम १७–१९ डिग्री सेल्सियस रहने छ भने मौसम सफा रहने छ । तराईमा बाक्लो हुस्सुु लागेको छ । जसका कारण तापक्रममा गिरावट आउने भएकाले चिसोबाट बच्न जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

मौसमविद् श्रेष्ठका अनुसार पूर्वी तराईमा लागेको हुस्सु साँझसम्म रहने तर पश्चिम तराईमा अपरान्ह्पछि हट्दै जानेछ । उनका अनुुसार भोलिबाट मौसमा बदली सुरु हुनेछ । उक्त बदलीसँगै हिमपात र वर्षा हुने श्रेष्ठको भनाइ छ । हाल पाकिस्तान तथा आसपासको क्षेत्र नजिक रहेको पश्चिमी न्यून चापीय प्रणाली भोलिबाट नेपाल प्रवेश गर्ने र सो प्रणालीका कारण बिहीबार देशको पश्चिमी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहने छ ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपात हुनुका साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही भू–भागमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ ।

उक्त मौसमी प्रणाली पूर्व सर्ने क्रममा शुक्रबार प्रदेश २ का केही र अन्य प्रदेशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, वागमती प्रदेश र प्रदेश १ का उच्च पहाडी र हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । विभागका अनुसार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, वागमती प्रदेश र प्रदेश १ का पहाडी भू–भागमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ ।

शनिबार यो प्रणालीको असर गण्डकी प्रदेश, वागमती प्रदेश, प्रदेश २ र प्रदेश १ मा रहनेछ । यी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहने सम्भावना रहेको छ । प्रदेश १ मा हल्का वर्षाको सम्भावना रहेको जनाएको विभागले प्रदेश १ का हिमाली भू–भागमा हिमपातको सम्भावना रहेको बताएको छ । शनिबार रातिबाट क्रमिक रुपमा मौसममा सुधार हुने विभागले बताएको छ ।

तपाईको प्रतिक्रिया