बराहताल मासु र तरकारीमा आत्मनिर्भर छ

सुर्खेतको बराहताल गाउँपालिकालाई कृषि र पशुपालनबाट आत्मनिर्भर बनाउने नीति अवलम्वन गरिएको छ । कृषि र पशुपालनका कार्यक्रम सञ्चालन गर्दै गाउँपालिकामा बेरोजगारी समस्या र खाद्य संकट हटाउने लक्ष्य छ । कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरदेखि ३० किलोमिटर पश्चिम क्षेत्रमा अवस्थित यो गाउँपालिका प्राकृतिक तथा भौतिक, सांस्कृतिक श्रोतले सम्पन्न मानिन्छ । बनजंगल, बनपैदाबार र कृषि उत्पादन यहाँको मुख्य आम्दानीको श्रोत हो । यस गाउँपालिकाको कुनाथारीलाई मुख्य केन्द्र बनाई काठ र तरकारी निर्यातमा जोड दिइएको छ । यहाँ तरकारी, फलफुल, दुध र मासु उत्पादन तथा निर्यात बढ्दै गएको छ । यसैबिच गाउँपालिका उपाध्यक्ष शोभाकुमारी शर्मासँग गरिएको कुराकानी सारांश ।

यस वर्ष गाउँपालिकाले के कस्ता योजनालाई प्राथमिकता दिएर काम गरिरहेको छ ?
हाल कोरोना माहामारीको भिन्न परिवेशमा आधारीत प्रदेश र संघको बजेट तथा नीति कार्यक्रम जस्तै हामीले पनि सोही आधारमा बजेट तय गरी कार्यक्रम सञ्चालन गर्दै आएका छौं । नागरिककका मागका आधारमा कार्यक्रम बनाइएका छन् । विशेष गरी कोरोना माहामारी रोकथाम, खाद्य संकटको अन्त्य, आयात प्रतिस्थापन र रोजगारी सृर्जनाका कार्यक्रमलाई प्राथमिकता दिएका छौं ।

उपलब्ध स्रोत साधान अनुसार हामीले सोचेको र गर्न सक्ने काममा आधारित भएर बजेट विनियोजन गरियो । अझै स्वास्थ्यका क्षेत्रमा धेरै सुधार ल्याउनुपर्ने भएकाले आवश्यक कार्यक्रम गरिरहेका छौं । चाहे त्यो पूर्वाधार विकासदेखि जनशक्ति व्यवस्थापनको कुरा होस् । हामीले सकेसम्म सबै समस्या समाधान गर्ने गरी महत्वका योजनालाई प्राथमिकता दिएका छौं ।

कोरोना माहामारीका कारण धेरैको रोजगारी गुमेको छ । ती युवा लक्षित के कस्ता स्वरोजगारमुलक कार्यक्रम छन् ?
कोरोना माहामारीका कारण भारत तथा तेस्रो मुलुकमा रोजगारीका लागि गएका युवाहरु गाउँ फर्के । सबैलाई रोजगारी दिनसक्ने अवस्था गाउँपालिकासँग छैन । सीप र क्षमता अनुसारको सबैलाई स्वरोजगारका कार्यक्रम चाहिएका छन् । हरेक क्षेत्रगत रुपमा फरक–फरक आवाश्यकता र माग छन् । त्यसलाई पहिचान गरेर रोजगारीका कार्यक्रम सञ्चालन गरिरहेका छौं । ठाउँ अनुसार फरक फरक अन्न तथा फलफूल खेती र पशुपालनबाट बेरोजगारी संख्या र खाद्य संकट घटाउन सकिने अवस्था छ ।

गाउँपालिकामा कृषि उपजहरु खासै आयात गर्नुपर्ने स्थिति छैन । आयात निर्यातको अवस्था लगभग उस्ताउस्तै छ केहीकेही चिज आयात हुन्छ । भने केही यहाँबाट पनि निर्यात हुन्छ । जस्तै तरकारी, फलफूल निर्यात हुन्छ । हामी मासुमा आत्मनिर्भर छांै । मासु र दुध उत्पादन गर्ने किसानलाई प्रोत्साहन रकम समेत प्रदान गर्दै आएका छांै । फलफूल तथा तरकारी खेतीका लागि टनेल, बीउबिजन वितरणसँगै अनुदानका कार्यक्रम सञ्चालन गर्ने तयारी छ । त्यस्तै कृषिमा आत्मनिर्भर बन्न औजार, उपकरण हस्तान्त्रण गरिरहेका छौं ।

भेरी नदीको पानी सिँचाइका लागि लिफ्टिङ प्रविधिबाट सुख्खा क्षेत्रमा पु¥याउने योजना छ । लाखौंका बाख्रा वितरण गरेका छौं । यहाँका खसीबोका काठमाडौंसम्म निर्यात गर्न सफल भएका छौं । त्यसैले गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने र यहाँको बेरोजगारी संख्या घटाउने, खाद्य संकट अन्त्य गर्ने लक्ष्य छ ।

तपाईं निर्वाचित भएपछि महिला लक्षित के कस्ता कार्यक्रम सञ्चालन गर्नुभयो ? र के कस्तो परिवर्तन आयो ?
सधैं महिलाको क्षमता वृद्धि, सशक्तीकरणका लागि भन्दै तालिम, गोष्ठीले मात्रै नहुने रहेछ । यसका लागि महिला दिदीबहिनीको बानीमा पनि परिवर्तन आउनुपर्छ । म निर्वाचित भएदेखि महिला लक्षित कार्यक्रम सञ्चालन गर्दै आएकी छुँ । महिलालाई अब कृषि समूहमार्फत् व्यवसायिक काम गर्न लगाउने योजना छ । गत वर्ष कक्षा १२ सम्म पढेका तर घरायासी कारणले पढाइ छोडेका महिलाको लागि लोकसेवा तयारी कक्षाको व्यवस्था मिलाएको थिएँ । यस वर्ष पनि यो कार्यक्रमले निरन्तरता पाउनेछ । अब तालिम भन्दा काम गर्ने गरी योजना बनाउनुपर्ने देखिन्छ ।

सामाजिक जागरणका अभियान थाल्ने बित्तिकै सामाजिक कु–संस्कार तथा विकृति अन्त्य हुँदैनन् । तर अभियान सञ्चालन गर्न छोड्नु पनि हुँदैन । हामीले छाउपढी, बालविवाह र जथाभावी मदिरा सेवन तथा झैझगडा न्यूनीकरणका क्षेत्रमा सचेतनाका कार्यक्रम जारी राखेका छौं । एउटा समस्या समाधान गर्दा फेरि अर्को समस्या देखिदै जाँदा सोचेकै समयमा भनेजस्तो त नहोला । तर अभियानले ढिलो चाँडो सार्थकता पाउँछ ।

विकास निर्माणका योजनामा ठेकेदार र उपभोक्तामध्ये कसले राम्रो काम गर्दछन् ?
कामका लागि ठेकेदार र उपभोक्ता समिति दुवै उस्तै हुन् । फुर्सदमा बस्ने हतारमा लतपत काम गर्ने बानी हटेको छैन । सडकका योजनामा उपभोक्ताले पनि डोजर प्रयोग गर्दा ठेकेदार र उपभोक्तामा केही फरक छैन । तर कृषिमा सिँचाइ कुलो निर्माण लगायतका योजनामा उपभोक्ता समितिले राम्रो काम गरेका छन् ।

अप्ठ्यारो कुरा के छ, भने ठेकेदारको लापारबाहीले योजनाको काम नभए वा अनियमितता भएमा कारबाही गर्न सजिलो छ । तर उपभोक्ता समितिलाई कारवाही गर्न सकिदैंन । व्यवस्था परिवर्तन भए पनि अवस्था अनुसार उपभोक्ता समिति, ठेकेदार र कर्मचारीको फुर्सदमा काम गर्ने बानीमा परिवर्तन नआउँदा समस्या बढ्दै गएको छ ।

यो पहिलेदेखि एक निरन्तरको प्रक्रिया जस्तो भयो । र बनाइयो पनि । व्यवस्था जति परिवर्तन भए पनि हरेक क्षेत्रमा काम गर्ने शैली पुरानै छ । त्यसैगरी असारे विकासको चलन पनि हट्न सकेको छैन । यसलाई हटाउनुपर्छ ।

अन्त्यमा तपाईं निर्वाचित भइसकेपछि भएका उपलब्धि र अबको योजनाबारे संक्षेपमा बताइदिनुहोस् न ?
म निर्वाचित भएर आइसकेपछि धेरै उपलब्धि भएका छन् । गाउँपालिकाले विकासमा फड्को मार्दैगर्दा सबै वडामा सडक विस्तार गरी यातायात सेवा सञ्चालन गर्न सफल भएका छौं । १० वटै वडामा एम्बुलेन्स सेवा सञ्चालन भएको छ । सडक नपुगेका गाउँहरुमा सडकको पहुँज बृद्धि भएको छ । शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि सुधार हुँदै गएको छ । सिँचाइ नपुगेको ठाउँमा सिँचाइ, खानेपानी, विद्युत्को पहुँज पुगेको छ । गाउँपालिकामा रहेको कुपोषण समस्या न्यूनीकरण गर्न पोषणका कार्यक्रमलाई जोड दिएका छौं । स्वास्थ्य र शिक्षाको क्षेत्रमा दरबन्दी अभावपूर्ति हुँदैछन् ।
बाढीपीडित र अग्नीपीडितका समस्या समाधानका लागि स्थानीय तह र प्रदेश सरकार लागि परेका छौं । विशेष गरी हाम्रो गाउँपालिका भौगोलिक विविधताले भरिपूर्ण छ । विस्तारै तरकारी, फलफूल, मासु र दुधमा आत्मनिर्भर बनेजस्तै विभिन्न कृषि अन्नबाली उत्पादन वृद्धि गरी यहाँको बेरोजगारी संख्या घटाउने र कृषिबाटै आत्मनिर्भर बनाउने अबको योजना हो ।


error: Alert: Content is protected !!