नरभक्षी आन्दोलनका दिन गए, अब नेपालमा कसैले हिंसा मच्चाउन सक्तैन : ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई अशान्ति र हिंसाको भुमरीमा जान नदिने प्रतिबद्धता जनाएका छन्। शुक्रबार आफू अध्यक्ष रहेको नेकपाको बागमती प्रदेश कमिटीले काठमाडाैंको राजमार्गस्थित नारायणहिटी दरबार अगाडि गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा फेरि कसैले अशान्ति र हिंसा मच्चाउन नसक्ने बताएका हुन्।

‘उहाँहरू भन्नुहुन्छ, अब शाकाहारी आन्दोलनलाई हुँदैन भनेर। शाकाहारी आन्दोलन हुदैन भनेको के हो? चिकेन चिल्ली खान्छु भन्या हो? उहाँले नरभक्षी आन्दोलन गर्न खोजेको हो’ उनले भने, ‘म उहाँहरूलाई भन्दिन चाहन्छु नरभक्षी आन्दोलनका दिन गए। अब नेपालमा कसैले हिंसा मच्चाउन सक्तैन। नेपाल शान्तिपूर्ण। अब नेपाल अशान्ति र हिंसाको भुमरीमा जान सक्दैन।’

प्रधानमन्त्री ओलीले आफूलाई काम गर्न नदिएपछि ताजा जनादेशमा गएको दाबी गरे। जनताले सरकारलाई ५ वर्ष काम गर्ने जनादेश दिएको भए पनि संसद विघटन गरी ताजा जनादेशमा गएको स्पष्ट पारे। प्रधानमन्त्रीले संसदीय प्रणालीमा प्रधानमन्त्रीले काम गर्न नदिने अवस्था आयो भने संसद विघटन गर्न सक्ने भन्दै संसद विघटन गर्ने निर्णयको बचाउ गरे। बेलायतको उदाहरण दिदै उनले काम गर्न नदिएपछि प्रधानमन्त्रीले संसद विघटन गरेर ताजा जनादेशमा जान सक्ने जिकिर गरे। 

तपाईको प्रतिक्रिया