सं‌सद विघटन मुद्दा : विपक्षी, पक्षलाई ३० माघभित्र बहस सक्न आग्रह

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले संसद विघटन मुद्दामा आफ्नो बहस ३० माघभित्रमा सक्न सरकारी पक्षलाई आग्रह गरेका छन् । संसद विघटन मुद्दामा दर्ता भएका १३ वटा रिटमा विपक्षी बनाइएका राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिरिषद कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओलीसहितका विपक्षीका कानुन व्यवसायीलाई आउँदो शुक्रबारसम्म बहस सक्न आग्रह गरेका हुन् ।

आइतबार प्रधानमन्त्रीको प्रतिरक्षाका लागि आएका अधिवक्ता रमेश बडालसँग उनले माघ ३० गतेभित्र विपक्षीका तर्फबाट बहस सक्नुपर्ने बताए । तर अधिवक्ता बडालले प्रधानमन्त्रीको तर्फबाट बहस सक्ने बताए । प्रधानन्यायाधीश जबराले प्रधानमन्त्री मात्र नभई सबै विपक्षीहरुको तर्फबाट बहस यो हप्ताभरिमा सक्नुपर्ने बताएका हुन् ।

उनले सरकारी पक्षलाई यसअघि समय नतोके पनि अब समय कम भएकाले निश्चित समय तोक्नुपरेको बताए । रिट निवेदकमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, प्रधानमन्त्री, सभामुखलगायतलाई विपक्षी बनाइएको छ ।

आइतबारसम्म संसद विघटनको प्रतिरक्षामा सरकारी पक्षबाट सरकारी वकिलले मात्र बहस सकेका छन् । अब संसद विघटनको रिटमा सरकारको प्रतिरक्षा गर्न वकालतनामा लेखाएका निजी कानुन व्यवसायीले बहस गर्न बाँकी छ ।

तपाईको प्रतिक्रिया