उत्तराखण्ड बाढी : ७ जनाको मृत्यु, १६ जनाको जिवितै उद्धार

काठमाडौं । भारतको उत्तराखण्डमा हिमताल फुटेर आएको बाढीका कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ। १ सय २५ जना बेपत्ता रहेको र १६ जनाको उद्धार गरिएको अधिकारीहरुले जनाएका छन्। चमोली जिल्लाको तपोवनमा एउटा सुरुङमा फसेका १६ जनाको उद्धार गरिएको छ।

ऋषिगंगा घाँटीमा अचानक बाढी आउँदा जलविद्युत आयोजनामा काम गरिरहेका डेढ सय मजदुर फसेका थिए। तीमध्ये अधिकांशको अवस्था अज्ञात रहेको जनाइएको छ। भारतीय वायु सेनाका अनुसार यो घटनापछि ऋषिगंगा भनिने तपोवन हाइड्रो–इलेक्ट्रिक पावर ड्याम पूर्णरुपमा ध्वस्त बनेको छ।

उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले परियोजना काम गर्ने कामदार, सुरक्षाकर्मी लगायत बेपत्ता भएको बताए। मुख्यमन्त्रीका अनुसार ऋषिगंगा परियोजनामा ३५ जना कामदार थिए। उनीहरु सबै बेपत्ता छन्। त्यस्तै त्यो भन्दा ५ किलोमिटर तल रहेको अर्को जलविद्युत परियोजनामा १ सय ७६ जना मजदुर ड्युटीमा रहेका थिए।

जसमध्ये एउटा सुरुङमा काम गरिरहेका १५ जना सम्पर्कमा आएका छन्। अर्को सुरुङमा ३०–३५ जना रहेको अनुमान गरिएको छ। उनीहरुलाई सम्पर्कमा ल्याउन नसकिएको जनाइएको छ। सुरुङमा लेदो भरिएको छ। हिजै दिउँसो ताल फुटेर बाढी आएपछि केही समयपछि उद्धार सुरु गरिएको थियो। साँझ पानीको बहाब फेरि बढेपछि उद्धार कार्य रोकिएको र आज बिहान पुनः सुरु भएको अधिकारीहरुले जनाएका छन्।  घटनामा केही नेपाली कामदारहरु पनि परेको भारतीय सञ्चारमाध्यमरुले उल्लेख गरेका छन्।

तपाईको प्रतिक्रिया