पार्टी विवाद बारे छलफल गर्न प्रधानमन्त्री ओली निर्वाचन आयोग जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज निर्वाचन आयोगको कार्यालय कान्तिपथ जाँदै छन् । नेकपा विवाद र निर्वाचनको तयारीका विषयमा छलफल गर्न आयोगले यही माघ १६ गते नेकपाका दुवै पक्षलाई बोलाएको थियो ।

नेकपा प्रचण्ड–माधव नेपाल पक्ष आयोगको कार्यालय पुगेर आधिकारिकता दाबी गरे पनि प्रधानमन्त्रीसमेत रहेका ओली गएका थिएनन् । नेकपाका दुवै समुहका नेताहरुले आफूहरु मूल पार्टी रहेको दाबी गर्दै आएका छन् ।

तर, आयोगले दुवै पक्षको दाबी नपुगेको जनाउँदै आएको छ । प्रधानमन्त्री ओलीले आयोग कार्यालयमा पुगेर आफूहरु नै आधिकारिक नेकपा भएको दाबी गर्नेछन् । साथै उनले आगामी मध्यावधि निर्वाचनको तयारीबारे जानकारीसमेत लिने बताइएको छ ।

गत पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै आगामी बैशाख १७ र २७ गते निर्वाचन मिति घोषणा गरेका छन् ।

संसद विघटन लगत्तै नेकपा विभाजित भएको थियो । एउटा खेमाको नेतृत्व प्रधानमन्त्री ओलीले र अर्कोको नेतृत्व प्रचण्ड र माधव नेपालले गरेका छन् । बहुमत केन्द्रीय सदस्यहरु आफूतिर रहेको दाबी गर्दै आएको प्रचण्ड–माधव समूहले ओलीलाई अध्यक्षबाट हटाएर माधव नेपाललाई अध्यक्ष बनाएको छ । ओली समूहले पनि प्रचण्डमाधव पक्षका नेताहरुलाई हटाउँदै संगठन पुनर्गठन गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया