एसइईकाे मितिबारे बोर्ड भन्छ : मन्त्रिपरिषदको लिखित निर्णय आएपछि मात्रै

काठमाडौं : सरकारले यस वर्षको एसइई परीक्षा केन्द्रस्‍तरबाट सञ्चालन गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद् बैठकले केन्द्र प्रदेश सरकारसँग आवश्यक समन्वय गरी राष्ट्रिय परीक्षा बोर्डले विगत वर्षझैँ एसईई सञ्चालन गर्ने,नतिजा प्रकाशन र प्रमाणीकरण गर्ने निर्णय गरिसकेको छ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार सबै जिम्मा बोर्डले पाएका कारण अब एसइई परीक्षाको मिति पनि बोर्डले नै तोक्नुपर्ने छ। यता, बोर्डका अध्यक्ष प्रा.डा चन्द्रमणि पौडेलले मन्त्रिपरिषदले केन्द्रस्तरबाटै परीक्षा गराउने निर्णय गरेपनि लिखित निर्णय नआएसम्म समय नतोकिने बताउँछन्।

‘मन्त्रिपरिषदले निर्णय गरेको चाही सुनिएको छ। तर,आधिकारिक जानकारी हामी कहाँ आएको छैन। लिखित निर्णय आएपछि मात्रै परीक्षाको मिति तोक्नेलगायत तयारीको काम हुन्छ।’

उनले आन्तरिक तयारी भने गरिरहेको जानकारी दिए। उनका अनुसार अहिले परीक्षाको लागि फर्म भर्ने काम भने भैरहेको छ। कानूनको अभावमा अझैसम्म पनि कक्षा १० को एसईई परीक्षा राष्ट्रियस्तरमा सञ्चालन हुँदै आएको छ।

एसईईको परीक्षा प्रदेश स्तरबाट सञ्चालन गर्नुपर्ने व्यवस्था भए पनि यसमा राज्यले स्पष्ट कानून बनाउन सकेको छैन। गत वर्षको एसईई परीक्षा कोभिड–१९ का कारण सरकारले विद्यालयको आन्तरिक मूल्यांकनबाट गर्ने निर्णय गरेको थियो। तर, यस वर्षको परीक्षा भने अब बोर्डले नै लिनेछ।

तपाईको प्रतिक्रिया