सहकारीको १८ लाख लुट्ने लेखापाल पक्राउ

काठमाडौं । काठमाडौंको कोटेश्वर–३२ सहयोगीनगरस्थित सौभाग्यशाली सहकारी लुटियो । माघ २५ मा साँझ ५ बजेतिर सहकारी लुटिएको कुरा त्यहाँका कर्मचारी र सञ्चालक समितिले चाहिँ भोलिपल्ट बिहान मात्रै थाहा पाए ।

सहकारीमा एकजना ऋणीले माघ २५ मा कार्यालय समय सकिन लाग्दा बुझाएको १० लाख र बजारबाट संकलन गरेको करिब ८ लाख रकम थियो । सहकारीको ढोका खोलेर १७ लाख ८५ हजार चोरी भयो ।

लुटमा सो सहकारीमा काम गर्ने लेखापाल सावित्री सुवेदी संलग्न रहेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । प्रारम्भिक अनुसन्धानबाट सुवेदीको हात रहेको देखिएपछि उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता ९एसपी० रमेश बस्नेतले बताए । ‘चोरीमा संलग्न रहेको आशंकामा लेखापाल सावित्री सुवेदीलाई पक्राउ गरेका छौं’ प्रहरी उपरीक्षक बस्नेतले भने–‘थप अनुसन्धान गर्दैछौं ।’

नक्कली साँचो बनाएर लुटपाट

माघ २६ मा बिहान कर्मचारी पुग्दा सहकारीको ढोका खुल्लै थियो । काउन्टरमा राखेको १७ लाख ८५ हजार गायब थियो । सहकारी सञ्चालकले तत्काल प्रहरीलाई खबर गरे । बानेश्वर वृत्त र महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले अनुसन्धान शुरु गरे । अनुसन्धान गर्दै जाँदा लेखापाल नै लुटमा संलग्न रहेको खुल्यो ।

सावित्री सुवेदीका दम्पतीले ठिमीमा घर बनाइरहेका छन् । नेपाली सेनाबाट अवकाश पाएका उनका श्रीमानले सो सहकारीबाट ऋण लिएका थिए । त्यहि दिन उनले ऋण तिरे । साढे ४ मा सावित्रीका श्रीमान सहकारीमा पुगेर १० लाख बुझाए । तर, उनले सो रकम बैंकबाट साढे १ मा नै निकालेको अनुसन्धानबाट खुलेको छ ।

‘कार्यालय समयको अन्तमा बुझाएको हुनाले सहकारीले सो पैसा बैंकमा राख्न भ्याएको थिएन’अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले भने–‘अनि, कर्मचारी हिँडेपछि सावित्रीले डुब्लिकेट चाबीले खोलेर पैसा निकालेर हिँडेको थाहा भएको छ ।’ सुवेदी दम्पतीले योजना बनाएर नै सौभाग्यशाली बचत तथा ऋण सहकारी लुटेको प्रहरीको निष्कर्ष छ । ratopati.com

तपाईको प्रतिक्रिया