कोरोना कहरबाट नतङ्ग्रिँदै बर्डफ्लुको मारमा पोल्ट्री व्यवसायी

क्षतिमाथि क्षति, व्यवसायी चिन्तामा

काठमाडौं । कोरोना कहरले करीब ५० अर्ब रुपैयाँ घाटा व्यहोरेर विस्तारै लयमा फर्किन लागेको पोल्ट्री व्यवसाय फेरि बर्डफ्लुको मारमा परेको छ ।

पशु सेवा विभागका अनुसार तारकेश्वर नगरपालिका वडा नम्बर १ मा फेरि बर्ड फ्लु देखिएसँगै पोल्ट्री व्यवसायी चिन्तामा परेका छन् । बर्ड फ्लु प्रमाणित भएसँगै शुक्रबार तारकेश्वर क्षेत्रका ५ हजार ६५७ लेयर्स कुखुरा, ७ हजार २३६ ब्रोईलर कुखुरा, २ हजार ५०४ लोकल कुखुरा, ५० टर्की, १७ बट्टाई, ३ हजार ५७० अण्डा र ३ हजार के.जी. दाना नष्ट गरिए हो ।

अहिले मात्रै होइन, केही समयअघि पनि तारेकश्वरको साङ्लेखोला छापका किसानले पालेका कुखुरा र हाँसमा फेरि बर्डफ्लु भेटिएको थियो । त्यतिबेला पनि बर्डफ्लु पुष्टि भएसँगै ‘¥यपिड रेस्पोन्स टिम’ ले १४०० हाँस र ६५ कुखुरा नष्ट गरिएको थियो ।

क्षतिमाथि क्षति, व्यवसायी चिन्तामा

नेपाल पोल्ट्री व्यवसायी महासंघका अध्यक्ष गुणचन्द्र विष्टले कोरोना कहरले पोल्ट्री क्षेत्रले ५० अर्बभन्दा धेरै घाटा भएको बताए । उनले भने, कोरोनाले पोल्ट्री व्यवसाय समस्यामा परेको थियो, फेरि बल्र्डफ्लुको कारणले समस्यामा परेको छ । पोल्ट्री क्षेत्रमा १ खर्ब २० अर्ब लगानी रहेको पनि उनले बताए ।

सरकारले पोल्ट्री व्यवसायमा आत्मनिर्भर भनेपछि किसानले लगानी विस्तार गर्दै आएका थिए । त्यसैको प्रभावस्वरूप केही वर्षयता नेपाल पोल्ट्री व्यवसाय पूर्ण रूपमा आत्मनिर्भर बनेको थियो । नेपालमा खपत हुने मासु र अण्डामा भारतसँगको परनिर्भरता समेत हट्यो । तर, कोरोनाको विश्वव्यापी महामारीका कारण वर्षौंको मिहिनेत र लगानी भएको क्षेत्र समस्या भएर विस्तारै माथि उठ्न लागेको समयमा नै बल्र्डफ्लुले किसानलाई समस्या पारेको विष्टले बताए ।

कोरोनाको महामारी शुरु हुनुअघि दैनिक २२ करोड रुपैयाँ बराबरको मासु, अण्डा, चल्ला र कुखुराका लागि आवश्यक दाना खरीद बिक्री हुँदै आएको पोल्ट्री व्यवसायमा अहिले कारोबार घटेको व्यवसायी बताउँछन् ।

तर विष्टले भने पहिले जस्तो बर्डफ्लु भनेर कुखुराको मासुका उपभोक्ता डराउन छाडेको बताए । कोल्डस्टोरले उत्पादन गरेको मासु स्वच्छ र स्वस्थ रहेकोले मासु प्रयोगमा कुनै समस्या नरहेको बताए ।

बर्डफ्लु लागेपछि ९० प्रतिशत कुखुरा मर्ने गरेकाले पनि किसानलाई समस्या पर्ने गरेको छ । पशु सेवा विभागले बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि काम गर्नुपर्ने हो तर अहिले विभागमा महानिर्देशक नै छैनन् । सरकारले यसलाई बेलैमा नियन्त्रणका लागि काम गर्ने हो भने समयमा नै बर्डफ्लु नियन्त्रण हुने बताए ।

के गर्दै छ सरकार ?

पशु सेवा विभागका सूचना अधिकारी डा. चन्द्र ढकालले रोग अन्यत्र फैलिन नदिई र तत्काल नियन्त्रणमा लिन संघ, प्रदेश तथा स्थानीय तहका पशु सेवासँग सम्बन्धित निकाय परिचालन गरिएको उनले बताए ।

उनले भने– बर्डफ्लुले चिसोमा बढी असर गर्छ । बर्डफ्लु कसरी भित्रियो भन्ने विषयमा अध्ययन भइरहेको छ । अहिले कन्ट्याक्ट ट्रेसिङ र रोग नियन्त्रणमै विभाग केन्द्रित रहेको छ ।

के भन्छन् डाक्टर

कुखुराको मासु राम्रोसँग पकाएर खादा बर्ड फ्लु नसर्ने डाक्टर शेरबहादुर पुनले बताए ।

उनले भने ‘पशुपक्षीजन्य उत्पादन तथा तिनको ओसारपसारलगायतका काममा संलग्न हुनेहरूले बर्डफ्लुसँग विशेष ध्यान दिनुपर्छ । कुखुराको मासु राम्ररी पकाएर खाने, काँचो मासु चलाउने व्यक्तिले पनि ध्यान दिनुपर्छ । पोल्ट्री फार्ममा काम गर्नेले जैविक सुरक्षामा ध्यान दिने, कुखुराको खोरमा काम गर्दा आवश्यक मास्क, पन्जा तथा बुटको प्रयोग गर्नुपर्छ ।’

तपाईको प्रतिक्रिया