कर्णालीका लागि काठमाडौंमा गुञ्जिए झुमा, लोचन र बुद्धि

काठमाडौंमा । कर्णाली आर्ट सेन्टरुको आयोजनामा (कार्णालीका रङहरू) कार्यक्रम सम्पन्न भएको छ । मंगलबार काठमाडौंको पाटनढोकामा रहेको यालामाया ढोकैमा क्याफेमा सम्पन्न भएको उक्त कार्यक्रममा गायिका झुमा लिम्बू, गायक लोचन रिजाल र कवि तथा लेखक बुद्धि सागरले आफ्नो प्रस्तुति दिएका थिए ।

गायिका झुमा लिम्बूले पूर्व(पश्चिमकै संस्कृति झल्काउने गीत सुनाइन् । उनले देउडाबाट सुरु गरेर पूर्वमा सुनिने लिम्बू भाषाको गीतसम्म गुनगुनाइन् । यस्तै, गायक लोचन रिजालले आफ्ना दुई गीत सुनाए । उनले पहिला प्रदर्शनका लागि बाँकी रहेको फिल्मका लागि भनेर तयार गरेको गीत सुनाए ।

‘समाजबाट केही कसिङ्गर हट्दैमा समाज सफा हुने भए मानवले ओडारमा गृहस्थी बसाउँथे होला‘’ । गीतबाट लोचनले समाजको वास्तविकता सुनाए । त्यस्तै, कवि बुद्धि सागरले आफू काठमाडौं छिरेर संघर्ष गर्नुपूर्व लेखेको एक कविता सुनाए । जुन कविता उनले २०५८ सालमा नै लेखेका थिए ।

बुद्धि सागरले कर्णालीको दुर्गम ठाउँमा पहिलो पटक ट्याक्टर पुग्दा एउटा कविता लेखेका थिए । जुन कवितालाई पनि बुद्धिले त्यहाँ वाचन गरे । कर्णालीमा रङहरू कार्यक्रम ‘कर्णाली आर्ट्स सेन्टर’ले सञ्चालन गरेको ‘स्कुल टु स्कुल’का लागि सहयोग संकलन गर्न आयोजना गरिएको थियो । समुदायको रहेको समृद्ध कला र सीप लोप हुँदै गइरहेको अवस्थालाई मध्यनजर गर्दै सेन्टरले विद्यालय–विद्यालय पुगेर त्यस्ता कला र सीप विद्यार्थीलाई सिकाउने गर्दछ ।

कार्यक्रममा कर्णालीको समाज, संस्कृति र पहिचान झल्काउने पेन्टिङहरू पनि प्रदर्शनी गरिएको थियो । ती पेन्टिङहरू बिक्रीमा छन् । पेन्टिङको प्रदर्शनी तथा बिक्री तीन दिनसम्म चल्नेछ । पेन्टिङ बेचेर आएको आर्थिक रकम पनि यही स्कुल टु स्कुल कार्यक्रमका लागि खर्च गरिनेछ ।

कार्यक्रम सोचेजस्तै राम्रो भएको आयोजक संस्थाका संयोजक हीरा बिजुलीले बताए । उनले भने, ‘हामीले जे सोचेर कार्यक्रम गरेका थियौँ, त्यो पूरा भयो । हेर्न आउन पर्ने मान्छेहरूले मलाई विश्वास गरेर आइदिनुभयो । आर्थिक संकलन पनि राम्रै भएको छ ।’

प्रदर्शनमा राखिएका सातवटा पेन्टिङ बिक्री भएको हीराले बताए । ‘केही बुकिङ भएका छन् । अझै बिक्री हुने क्रम जारी छ’, हीराले खुसी व्यक्त गरे । अब चाँडै मुगु पुगेर मुगुका विद्यार्थीलाई कला, सहित्य र संस्कृतिका विषयमा पढाइ सुरु गरिने हीराको योजना छ ।

तपाईको प्रतिक्रिया