फागुन २३ अगावै ओलीले प्रधानमन्त्रीबाट राजीनामा नदिए दलहरू मिलेर हटाउँछौं– प्रचण्ड

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फागुन २३ गते अगावै राजीनामा नदिएमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजनीतिक दलहरू मिलेर हटाउने बताएका छन् ।

अविश्वासको प्रस्ताव ल्याएर हटाउन ओलीले दिएको चुनौती सामना गर्न आफूहरू तम्तयार रहेको प्रचण्डले बताए । सिभिल अस्पतालमा कोरोनाविरुद्धको खोप लगाएपछि बुधवार पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले ओलीमा लोकतान्त्रिक मूल्यमान्यता बाँकी रहेको भए राजीनामा गर्नुपर्ने बताएका हुन् ।

‘२३ गते पुग्दा नपुग्दै अनिश्चितताको तुवाँलो र बादल फाटेर नयाँ गति र विश्वास पैदा गर्छ । म अझै पनि के भन्ठान्छु भने केपीजीमा जनता, मुलुक, राष्ट्र र लोकतन्त्रको सीमाप्रति थोरै पनि संवेदनशील भएमा राजीनामा दिएर निकायका लागि सहज गरिदिनुपर्छ भन्ने ठान्छु,’ प्रचण्डले भने, ‘उहाँले त्यसो गर्नुभएन भने राजनीतिक दलहरू मिलेर उहाँलाई हटाइन्छ ।’पत्रकारहरूको एक प्रश्नको जवाफमा प्रचण्डले ओलीले दिएको चुनौती सामना गर्ने बताए ।

‘उहाँको चुनौती सामना गर्न हामी तम्तयार छौं,’ प्रचण्डले भने । यसअघि आइतवार र मंगलवार झापामा आयोजित कार्यक्रममा ओलीले आफूलाई अविश्वासको प्रस्ताव ल्याएर हटाउन चुनौती दिएका थिए ।

तपाईको प्रतिक्रिया