स्कुलको शौचालय आफैं सफा गर्ने हेडमास्टर

मोरङ ;  प्रधानाध्यापकले विद्यालयको शौचालय सफा गर्छन् भनेको सुन्दा अलि अनौठो लाग्न सक्छ। त्यसमा पनि दैनिक दुई पटक।

बिहान कक्षा सुरु हुनुअघि र साँझ बिदा भएपछि नियमित रुपमा शौचालय सफा गर्दै आएका छन्, ग्रामथान–२ को रवि आधारभूत विद्यालयका प्रधानाध्यापक जितेन्द्र सरदार। विद्यालयको शौचालय व्यावसायिक रुपमा सफा गर्नेले भन्दा राम्रो प्रधानाध्यापक सरदारले सफाइ गर्दै आएका छन्। उनलाइै धेरैले शौचालय सफाइ गर्ने प्रधानाध्यापक पनि भन्ने गरेका छन्। यसमा उनलाई गर्व छ।

शुरु–शुरुका दिनमा उनलाई अरु विद्यालयका शिक्षक–प्रधानाध्यापकहरुले गाली पनि गरे– तपाईंका कारण हाम्रो पनि बदनाम हुने भयो भनेर। प्रअ सरदारले भने, ‘प्रधानाध्यापक भएर पनि शौचालय सफा गर्दै हिँड्ने हो भनेर पनि साथीहरुले भन्नुभयो।’विद्यालयको आम्दानीको स्रोत नभएको र प्रधानाध्यापकले नै काम शुरु गरेपछि शौचालय सफाइमा सबैलाई उत्प्रेरणा हुने भएकाले शौचालय सफाइको निर्णय गरेको उनले बताए। दलित समुदायका विद्यार्थी अध्ययन गर्ने र दलित समुदायभित्र विद्यालय भएकाले पनि आफूले शौचालय सफाइ गरी दलितभित्रको हिनताबोध हटाउने काम गरेको प्रअ सरदारले बताए। उनी भन्छन्, ‘पहिले मलाई गाली गर्नेहरु अहिले ठिकै गर्नुभएको रहेछ भन्ने गरेका छन्।’ प्रधानाध्यापक समाजको रोल मोडल पनि भएको उनले बताए।

विद्यालयले कार्यालय सहयोगी भनेर एक जनालाई नियुक्त गरेको छ। तर, कार्यालय सहयोगीलाई शिक्षणको कार्यमा पनि खटाइएको छ। उनलाई मात्रै विद्यालयले सरसफाइमा खटाउने गरेको छैन। कार्यालय सफाइदेखि पढाउने पनि जिम्मेवारी दिइएको प्रधानाध्यापक सरदारले बताए। विद्यालयमा सबैलाई समान रुपमा हेर्ने गरिएको छ। उनले भने, ‘विद्यालयमा शौचालय एउटै छ, म हेडमास्टर भनेर बस्ने अलग कुर्सी, टेबल र नेमप्लेट पनि छैन।’ विद्यालयका सबै समान भएपछि काम गर्न पनि सबैलाई सहज भएको उनले तर्क गरे। जितेन्द्र सरदार २०७३ सालमा रवि आधारभूत विद्यालयमा प्रवेश गरेका हुन्। उनी विद्यालय प्रवेश गर्दा विद्यालय सञ्चालन गर्ने कि बन्द गर्ने भन्ने अवस्थामा थियो। विद्यालयमा हाजिर भएको केही समयपछि उनी निमित्त प्रधानाध्यापकको जिम्मेवारीमा रहे। निमित्त भएकै समयमा विद्यालयको विकासमा अहोरात्र उनी खटे। ४ वर्षको अवधिमा विद्यालयले आमूल परिवर्तन गर्न सफल भएको छ।

लगभग शतप्रतिशत दलित विद्यार्थी अध्ययन गर्ने विद्यालयका रुपमा रवि आधारभूत विद्यालय रहेको छ। कक्षा ८ सम्म सञ्चालित विद्यालयमा अहिले ४२० जना विद्यार्थी अध्ययनरत छन्। विद्यालयमा तराई मूलका सरदार, हरिजन र राम समुदायका दलित विद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापक सरदारले बताए।

रवि आधारभूत विद्यालयलाई नमूना विद्यालयका रुपमा विकास गर्ने योजना अनुसार आफूले काम गर्दै गएपछि विद्यालय प्रगति पथमा रहेको उनले बताए। अहिले विद्यालय प्रवेश गर्दा निजी विद्यालय भन्दा कम पूर्वाधार छैन। पठनपाठन पनि अंग्रेजी माध्यममा छ। निजी विद्यालयले दिने शिक्षा भन्दा कम नभएको प्रधानाध्यापक सरदारको दाबी छ।

विद्यालय बिदा नहुँदासम्म कुनै पनि विद्यार्थी घर जाँदैनन्। प्रधानाध्यापक सरदार भन्छन्, ‘विद्यालय सुरु हुँदा हाजिर भएका विद्यार्थी घर फर्कने समयमा पनि त्यति नै हुन्छन्।’ अतिरिक्त क्रियाकलाप, अंग्रेजी माध्यम, नियमित पठनपाठन, खाजाको प्रवन्ध, पुस्तकालय, बुक कर्नर लगायतका कारण विद्यार्थी नियमित आउने र वीचैमा विद्यालय छाड्ने क्रम रोकिएको उनले बताए। विद्यार्थी टिकाउनका लागि शुरुवातका दिनमा धेरै संघर्ष गरेको प्रअ सरदारको भनाइ छ। विद्यालयले पठनपाठन र पूर्वाधारमा सुधार गरेपछि आसपासका टोलहरुबाट निजी छाडेर आफ्नो विद्यालयमा विद्यार्थी आउने गरेको उनले बताए।

तपाईको प्रतिक्रिया