आजको मन्त्रिपरिषद्को बैठकले डेपुटी गभर्नर छान्ने सम्भावना : को बन्दैछन् ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कमा रिक्त रहेको दुई डेपुटी गभर्नरका लागि ब्यापक लबिङ भइरहेको छ । आ— आफ्ना राजनीतिक पावर प्रयोगमा व्यस्त छन् राष्ट्र बैङ्कका केही कार्यकारी निर्देशकहरू ।

नेपाल राष्ट्र बैङ्कले डेपुटी गभर्नरको नाम सिफारिस गरेको पत्र अर्थमन्त्री विष्णुप्रसाद पौडेलको हातमा थमाइसकेको अर्थमन्त्रालय स्रोतले बताएको छ । सम्भवतः आजै बस्ने मन्त्रिपरिषद्को बैठकले डेपुटी गभर्नरको विषय टुङ्गो लगाउने बुझिएको छ ।

डेपुटी गभर्नरको लागि कार्यकारी निर्देशक डा। प्रकाश श्रेष्ठ, डा. गुणाकर भट्ट, देव कुमार ढकाल, निलम ढुङ्गानाको नाम सिफारिस भएको स्रोत बताउँछ । तर डेपुटी गभर्नरको दौडमा भुवन कँडेल, नेफिल मटाङ्गी मास्के, बम बहादुर मिश्रको नाम पनि चर्चामा छ ।

डा. प्रकाश श्रेष्ठ अर्थमन्त्री पौडेलका आर्थिक सल्लाहकार हुन् । उनको सम्भावना अधिक रहेको पनि ती स्रोतको भनाइ छ । अर्थमन्त्रीले नै क्याबिनेटमा नाम सिफारिस गर्ने भएकाले उनको सम्भावना अधिक रहेको स्रोतको दाबी छ ।

प्रधानमन्त्री ओलीले पनि श्रेष्ठलाई विश्वास गर्ने र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले उनलाई यसअघि प्रदेश योजना आयोगको उपाध्यक्ष बनाइसकेको र हालको अर्थमन्त्रीको सल्लाहकार भएकाले उनको सम्भावना देखिएको हो । डेपुटी गभर्नरको लागि उनको राजनीतिक च्यानल सबै कोणबाट मिलेको देखिन्छ । डा. श्रेष्ठ स्वयम् पनि राष्ट्र बैङ्कको कर्मचारीको नाताले पनि डेपुटी गभर्नरको नाममा चर्चा हुनु स्वभाविक भएको बताउँछन् ।

यता भुवन कँडेलले शेरबहादुर देउवा र केपी ओलीलाई प्रयोग गर्दै अर्को डेपुटी गर्भनर बन्ने दाउमा छन । यस्तै पहिलो महिला डेपुटी गर्भनर बन्ने दाउमा निलम ढुंगाना छिन् । उनले पनि आफ्नो राजनीतिक च्यानलको भरपूर प्रयोग गरिरहेका बताइएको छ । विशेष गरी राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्रीलाई रिझाउन खोजिरहेको स्रोतको भनाइ छ । यता डा. गुणाकर भट्टलाई पनि सम्भावित डेपुटी गभर्नरको रुपमा हेरिएको छ । उनलाई कांग्रेस निकट मानिन्छ ।

राष्ट्र बैङ्कमा दुइ डेपुटी गभर्नरको पद खाली रहेकाले एउटामा डा। श्रेष्ठलाई पक्का डेपुटी गभर्नरको रुपमा हेरिएको छ भने अर्कोमा राजनीतिक शक्तिका कारण को बन्छ भन्न अप्ठेरो रहेको स्रोतको भनाइ छ । नियामक निकायको उच्च पदहरु मध्येका दुई शीर्ष स्थानमा जानका लागि केही समय अघि देखि नै बैङ्कका कार्यकारी निर्देशकहरूले प्रधानमन्त्रीदेखि अर्थमन्त्रीलाई समेत रिझाएर सो पद आफ्नो हातमा पार्न जोडबल गरिरहेका छन् ।

गत फागुन १८ गते डेपुटी गभर्नरद्वय चिन्तामणि सिवाकोटी र शिवराज श्रेष्ठको कार्यकाल सकिएपछि सो पद रिक्त छ । सिवाकोटीलाई एमाले र श्रेष्ठलाई काँग्रेस निकट मानिन्छ । गभर्नरको दौडमा रहेका सिवाकोटीलाई हालका गभर्नरले पछारेर आफु अगाडी आएका थिए । अर्का शिवराज श्रेष्ठलाई गभर्नरको दौडमा जान नदिन विभिन्न आरोपहरू लगाइयो तर पछि उनलाई अदालतले क्लिन चिट दियो र अहिले आफ्नो कार्यकाल सकाएर अवकाश पाएका छन् । हाल राष्ट्र बैङ्कका १७ जना कार्यकारीहरू नै डेपुटी गर्भनर बन्न योग्य छन् । कसको राजनीतिक शक्ति बलियो छ सोही आधारमा डेपुटी गभर्नरको पद हात पार्नेछन् । RATOPATI.COM

तपाईको प्रतिक्रिया