काम गर्न र पार्टी बनाउन आउनुस्, ठेगान लाउन आउनुभयो भने ठेस लाग्नेछ : प्रधानमन्त्री

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको बैठकमा नआएर अन्यत्रै बैठकगरी बसेका केन्द्रीय सदस्यहरुलाई प्रशस्त समय मिलोस् भनेर आफूले चैत ७ गते केन्द्रीय कमिटी बैठक बोलाएको बताए ।

भृकुटीमण्डपमा शनिबार आयोजित अखिल नेपाल महिला संघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘पेरिसडाँडाबाट रुवाबासी गर्दै विदावारी भएर हिँडेकाहरु अर्याल होटलमा बास बसिरहेको खबर पाएको छु । उहाँहरु पेरिसडाँडाबाट भर्खर अर्याल होटलमा आइपुग्नुभएको छ रे । एक दुई रात त्यहाँ बास बसेर आउनुहोस् भनेर चैत ७ गते बालुवाटारमा बैठक बोलाएको छु ।’

कसैले थाहा पाइनँ भन्न नपाउने भन्दै प्रधानमन्त्री ओलीले भने ,२‘०७७ साल चैत ७ गते केन्द्रीय कमिटी बैठक बालुवाटारमा बोलाएको छु । केन्द्रीय कमिटीका सदस्य आउनुहोला । अनुपस्थित रहँदै जानुभयो भने विधानको व्यवस्थाअनुसार हुँदै जानेछ । त्यसकारण म सबैले सुन्ने गरी भन्न चाहन्छु ७ गतेको बैठकमा आउनुहोला । नभन्नुहोला, अनुपस्थित रहँदै जानुभयो भने विधान व्यवस्थाअनुसार हुँदै जानेछ ।

एमालेको विधानमा लगातार तीनपटक बैठकमा अनुपस्थित भएमा कारवाही हुने व्यवस्था छ । प्रधानमन्त्री ओलीले आफूलाई माधव नेपालहरुले तीनपटक साधारण सदस्यबाट र अध्यक्षबाट निकालेको स्मरण गरे । ‘बाटा बाटामा अध्यक्षको पगरी गुथेर हिडेका छन् । यिनीहरुले मलाई तीन तीनपटक अध्यक्षबाट मात्र होइन, साधारण सदस्यबाट समेत निकालेका हुन् । देख्नुभयो नि, यिनीहरुले सक्ने भए के के गर्ने रहेछन्’ उनले भने ।

ओलीले आफुलाई हटाउने प्रयास भएपनि ती सबै प्रयासहरु विफल भएको बताए । जनताले पनि त्यसको हिसाब किताब राखेको भन्दै आगामी निर्वाचनबाट सरकार गिराउन लाग्ने तत्व पराजित हुने ओलीले बताए । ‘कसैले हटाउन सक्छ भने हटाओस्। हामी त्यसको सामना गर्छौँ। २० महिनापछि यो पार्टी २० तिहाई बहुमतका साथ सिंहदरबारको मूल गेटबाट छिर्छ’ उनले थपे ।

माधव नेपाल समूहप्रति संकेतगर्दै ओलीले यदी कसैले ठेगान लगाउँछु भनेर सोचेको भए त्यो दुर्भाय हुने बताए । उनले भने, ‘यस्सो वक्तव्यबाजी सुन्छु, हामी फर्किन्छौं । केपी ओलीलाई ठेगान लगाउन फर्किन्छौं भनेको । खुट्टी देखेरै पत्याइयो । काम गर्न, पार्टी बनाउन आउनुस् । केपी ओलीलाई ठेगान लाउन आउनुभयो भने तपाईंका खुट्टामा बाटैमा ठेस लाग्छ।’

तपाईको प्रतिक्रिया