पाकिस्तान वुमन्स् च्याम्पियनसिपमा नेपाली खेलाडी सम्मिलित खेल स्थगित

इलाम । पाकिस्तान जारी नेसनल वुमन्स् च्याम्पियनसिपमा नेपाली खेलाडी सम्मिलित मासा युनाइटेड रहेको समूह ‘बी’ को खेल अनिश्चितकालका लागि स्थगित भएको छ।

मासा युनाइटेड सम्मिलित समूहमा रहेको कराँची युनाइटेडको खेलाडीमा गत आइतबार कोरोना संक्रमण देखिएपछि खेल स्थगित गरिएको पाकिस्तान फुटबल फेडेरेसनले जनाएको छ। मासाले कराँचीसँग आज खेल्ने तालिका रहेको थियो।

फेडेरेसनले विज्ञप्ती जारी गर्दै समूह ‘बी’ मा रहेको टोलीका खेलाडीको कोरोना परीक्षण गर्नुपर्ने जनाएको छ। कराँची युनाइटेडले समूह बी मा कराँची वुमन्स फुटबल क्लब र एचइसीसँग खेलेको थियो। त्यसैगरी कराँची वुमन्स् फुटबल क्लबले सियालकोट सिटीसँग खेलेको थियो। ती टोलीले अन्य टोलीसँग पनि खेलिसकेका कारण अरु टोलीको पनि कोरोना परीक्षण गराउने पाकिस्तान फुटबल फेडेरेसनले जनाएको छ।

मासा युनाइटेडले समूह चरणको पहिलो खेलमा सियालकोट सिटीसँग मात्र खेलेको छ। नेपाली खेलाडी सम्मिलित टोलीका खेलाडीको भने कोरोना परीक्षणको बारेमा कुनै पनि जानकारी नआएको पाकिस्तानबाट मिडफिल्डर सरु लिम्बूले बताइन्। ‘नेपालबाट गएका हामीलाई कोरोना परीक्षण गर्नुपर्ने नपर्ने भन्ने बारेमा केही जानकारी आएको छैन्। हामीसँग आज मात्र खेल्ने टिमको खेलाडीलाई कोरोना देखिएकाले खेल स्थगित भएको भनिएको छ।’ थाहाखबरसँग कुरा गर्दै सरुले भनिन्, ‘हामीलाई अरूसँग सम्पर्कमा नआउनु चाहि भनिएको छ।’ अन्य टोलीको खेलाडीको कोरोना परीक्षण आज गरिँदै छ।

परीक्षणको नतिजा नआउन्जेलसम्म समूह बी को खेल स्थगन गरिएको पाकिस्तान फुटबल फेडेरेसनले जनाएको छ। खेलाडीहरुको कोरोना परीक्षणका लागि फेडेरेसनले आर्थिक सहयोग गर्ने जनाइएको छ। मासा युनाइटेडले पहिलो खेलमा सियालकोट सिटीलाई १९–० को फराकिलो अन्तरले पराजित गरेको थियो। सो खेलमा सरु लिम्बू एक्लैले १० गोल गरेकी थिइन्। अनिता केसीले दोहोरो ह्याट्रिक गर्दा गीता रानाले एक गोल गरिन्। पाकिस्तानी खेलाडी सारा इक्वाल र सम्रोज सम्रिनाले एक एक गोल थपेकी थिइन्।

तपाईको प्रतिक्रिया