ओली समक्ष आत्मसमर्पण गरेको छैन : वामदेव

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले आफूले केपी शर्मा ओली समक्ष आत्मसमर्पण नगरेको बताएका छन्। पार्टी राष्ट्रिय एकता अभियान चलाउँदै आएका गौतम शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरिएको एमाले संसदीय दलको बैठकमा सहभागी भएका थिए।

बैठकमा सहभागी भएपछि उनले एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओली समक्ष आत्मसमर्पण नगरेको र नगर्ने पनि प्रष्ट्याएका हुन्। उनले उद्देश्य पूरा नहुँदासम्म अभियान जारी रहने समेत बताएका छन्। उनले ओली पार्टी अध्यक्ष भएकाले समूह भन्न नमिल्ने बताएका छन्। तर‚ ओलीको कार्यशैली गलत रहेको उपाध्यक्ष गौतमको दाबी छ।

उपाध्यक्ष गौतमले ओलीको अध्यक्षतामा गत फागुन २८ मा भएको केन्द्रीय कमिटी बैठकलाई केन्द्रीय नभएको जिकिर गरेका छन्। फागुन २८ को बैठक केन्द्रीय कमिटीको थिएन, त्यसले गरेका निर्णय फिर्ता लिनैपर्छ, गौतमले भनेका छन्, पार्टीभित्र रहेका कमरेडहरुलाई उहाँहरुको अनुपस्थितिमा कुनै कारवाही गर्न मिल्दैन।

तपाईको प्रतिक्रिया