भागरथी हत्या प्रकरण : अभियुक्तको डिएनए भेजाइनल स्वाबसँग म्याचिङ भयो

काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार र हत्यामा संलग्न भन्दै पुर्पक्षका लागि बाल सुधार गृहमा पठाइएका अभियुक्तको डिएनए म्याचिङ भएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेशकुमार सिंहका अनुसार भागरथीको शरीरबाट लिइएको भेजाइनल स्वाब र अभियुक्तको डिएनए म्याचिङ भएको छ । घटनालगत्तै प्रहरीले भागरथीको भेजाइनल स्वाबको नमुना संकलन गरी काठमाडौंस्थित प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशालामा पठाएको थियो ।

फागुन ६ गते घटनामा संलग्न भन्दै पक्राउ गरिएका स्थानीय १७ वर्षीय किशोरको डिएनए स्याम्पल पनि प्रहरीले काठमाडौं पठाएको थियो । भागरथीको भेजाइनल स्वाबमा भेटिएको डीएनएसँग अभियुक्तको डिएनए म्याचिङ भएको प्रहरीले बताएको हो ।

केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशाला, सामाखुसीले पठाएको सिलबन्दी रिपोर्ट जिल्ला अदालत बैतडीमा खोलिएको र रिपोर्टमा डिएनए म्याचिङ भएको जनाइएको प्रवक्ता सिंहले बताए ।

तपाईको प्रतिक्रिया