शेरधन राईले गरे मन्त्रिपरिषद् विस्तार, माओवादीका आङबुहाङलाई अर्थ मन्त्रालयको जिम्मेवारी

विराटनगर । प्रदेश १ सरकारको मन्त्रिपरिषद विस्तार हुँदैछ । मुख्यमन्त्री शेरधन राईले आफ्नो मन्त्रिपरिषद्मा चारजना नयाँ थप्ने र दुई जना राज्यमन्त्रीलाई फूलमन्त्रीमा बढुवा गर्दैछन् । सबैको सपथग्रहण प्रदेश प्रमुखले आजै गराउँदै छन् ।

कृषि राज्यमन्त्री रामबहादुर मगर र भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङ ‘फुल मन्त्री’ बन्दैछन् । यसैगरी नयाँ मन्त्रीको रुपमा नेकपा माओवादी केन्द्रबाट नेकपा एमालेमा प्रवेश गरेका टंक आङ्बुहाङलाई आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मा दिइँदैछ । प्रदेश सांसद उषाकला राई सामाजिक विकास राज्यमन्त्री, कला घले कृषि राज्यमन्त्री र राजकुमार ओझाले उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीको सपथ लिनेछन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बढुवा गरिएका र नयाँ मन्त्रीहरुको सपथ दिउँसो १ बजे प्रदेश प्रमुखको कार्यालय गर्ने तयारी गरेको छ । यसबारे विपक्षी दलसहित संचारकर्मीहरुलाई समेत सपथ ग्रहण कार्यक्रममा सहभागी हुन निमन्त्रणा गरिएको छ ।

प्रमुख विपक्षी दल नेपाली कांग्रेसका नेता राजिव कोइरालाले मन्त्रीहको सपथग्रहण कार्यक्रममा सहभागी हुन निमन्त्रणा आएको जानकारी दिए । यसअघि आर्थिक मामिला तया योजना मन्त्रालयको जिम्मेवारीमा नेकपा माओवादी केन्द्रका इन्द्र आङ्बो थिए ।

मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउन नेकपा खारेज नभई गतिविधि गरेको भन्दै मुख्यमन्त्री राईले उनलाई बर्खास्त गरिदिएका थिए । उनको ठाउँमा माओवादी केन्द्रका सांसद आङ्बुहाङलाई ल्याउन लागिएको हो । उनी ताप्लेजुङबाट निर्वाचित सांसद हुन् । नेकपाको विवादसँगै अर्कै समूहमा रहेका उषाकला राई र राजकुमार ओझा मुख्यमन्त्री राईको खेमामा आएका थिए ।

विस्तारपछि प्रदेश १ को मन्त्रिमण्डल ९ सदस्यीय हुनेछ । सर्वोच्च अदालतको फैसलापछि नेकपा एमालेको एकल बहुमत रहेको प्रदेश १ मा मुख्यमन्त्री राई बलियो बनेका छन् । अविश्वासको प्रस्ताव दर्ता गर्ने आफ्ना सांसदलाई दलको नेताको हैसियतमा राईले सात दिनभित्र हस्ताक्षर फिर्ता लिन लिखित निर्देशन दिएका छन् । बुधबार संसदीय दलको बैठकपछि सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले चाँडै सरकार विस्तार हुने जानकारी गराएका थिए । 12khari.com

तपाईको प्रतिक्रिया