राजनीति

पार्टीहरूको आन्तरिक एकता सर्वोच्चले भत्काउन मिल्दैन, फैसला सच्चिनेछ : प्रचण्ड


काठमाडौँ,  । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नेकपा विघटन गर्ने सर्वोच्च अदालतको फैसला पुनरावलोकन हुनेमा आफू विश्वस्त रहेको बताउनुभएको छ ।

मंगलबार उहाँले सर्वोच्च अदालतमा आफै उपस्थित भएर अदालतको गत फागुन २३ गतेको फैसलामाथि पुनरावलोकन माग गर्दै निवेदन दिनुभएको छ । सो क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले अदालतको फैसला अप्राकृतिक तवर आएको भन्दै उक्त निर्णय सच्चिनेमा आफूले आशावादी रहेको बताउनुभयो ।

नेकपा नाम विवादको मुद्दामा रिट निवेदकले मागेको भन्दा भिन्न तवरले फैसला आएकोतर्फ इंगित गर्दै उहाँले भन्नुभयो, ‘रिट निवेदकले पार्टी एकता नै टुटोस् भन्ने चाहेका थिएनन् । निवेदकको चाहनाभन्दा बाहिर गएर फैसला आयो । त्यो पार्टीको नामसम्बन्धी जुन फैसला भयो, त्यो स्वभाविक, प्राकृतिक भएन, राजीतिक प्रकृतिको भयो ।’

उहाँले पार्टीहरूकाे कुरामा अदालत खेल्न नहुने समेत बताउँदै भन्नुभयाे, ‘सर्वोच्चले माग्दै नमागेको विषयमा आदेश दिएको थियो । पार्टीहरूको आन्तरिक एकता सर्वोच्चले भत्काउन मिल्दैन । यसप्रकारका फैसला विगतमा पनि पुनरावलोकन भएका छन् । मलाई आशा छ, यो फैसला पनि अदालतले सच्याउनेछ ।’

पुनरावलोकन निवेदन दिन प्रचण्डसँगै माओवादी केन्द्रका नेताहरू गिरिराजमणि पोखरेल,वर्षमान पुन, हरिबोल गजुरेल, जनार्द्धन शर्मा मंगलबार बिहान ११ बजे सर्वोच्च अदालत पुग्नुभएकाे थियाे ।

सर्वोच्च अदालतले गत फागुन २३ गते नेकपा नाम विवादको मुद्दामा फैसला गर्दै ऋषि कट्टेल नेतृत्वको पार्टी नै वैध रहेको ठहर गरेको थियो । एमाले–माओवादी मिलेर बनेको नेकपा अवैधानिक रहेको फैसला आएसँगै दुई पार्टी अलग भइसकेका छन् ।

तपाईको प्रतिक्रिया