युगान्डाकी गायिका फाम्सीले आई लभ यु सो मच मदनकृष्ण भनेपछि…

काठमाडौं । गएको आइतबार ९मार्च २१० कलाकार मदनकृष्ण श्रेष्ठले युगान्डाकी गायिका डी क्याप्टेन बियोन्से फाम्सीलाई भेट्ने इच्छा व्यक्त गर्दै फेसबुकमा स्ट्याटस लेखे । मदनकृष्णले बियोन्सेको गायिकीको तारिफ गर्दै लेखेका थिए, “नेपाली गीत–संगीतलाई यसरी मन पराइदिएकोमा यी गायिकालाई त एकपल्ट भेटेरै धन्यवाद दिन पाए नि हुन्थ्योजस्तो लाग्यो । तर, घर कहाँ हो, युगान्डाको कुन टोलमा बस्छिन्, जाने बाटो कताबाट हो, केही थाहा छैन।।। हाहा।।।।”

मदनकृष्णको यो इच्छा बुधबार पूरा भयो । ‘फूलबुट्टे सारी।।।’को कभर गाएर चर्चामा आएकी यी गायिका आफैँ मदनकृष्णलाई भेट्न काठमाडौंस्थित एक रेस्टुरेन्टमा पुगिन् । नेपालका ‘लेजेन्डरी’ व्यक्तित्वलाई प्रत्यक्ष भेट्न पाउँदा आफू निकै हर्षित भएको बियोन्सेको प्रतिक्रिया थियो ।

उनी आफैँ पनि मदनकृष्णलाई भेट्न आतुर थिइन् । उक्त गीत गाउनुको प्रेरणा नै मदनकृष्ण नै भएको उनी बताउँछिन् ।

बुधबारको भेटमा बियोन्सेले खुसीको आँसु झार्दै भनिन्, “तपाईंको कारण मेरो जिन्दगीमा आज यो सुनौलो दिन आइरहेको छ । नेपालको यस्तो वरिष्ठ कलाकार, जसलाई भेट्न जो कोहीलाई सजिलो हुँदैन । आज म त्यही व्यक्तित्वलाई भेट्दै छु भनेर मैले विश्वासै गर्न सकिरहेको छैन । आई लभ यु सो मच । म सधैँ तपाईंलाई र नेपाललाई माया गरिरहनेछु ।” उनी मदनकृष्णलाई भेट्न आफ्नो देशको झन्डाअंकित पहिरनमा आएकी थिइन् ।

बियोन्सेले यसो भनिरहँदा मदनकृष्ण भने छेउमा मुस्कुराइरहेका देखिन्थे । बियोन्सेसँग भेट्छु भनेर आफूले स्ट्याटस लेखेको नभई बियोन्सेको प्रतिभाले लेख्न बाध्य बनाएको उनी बताइरहेका थिए ।

‘फूलबुट्टे सारी।।।’को अहिलेसम्म आएका हरेक भर्सनको आ–आफ्नै मिठास रहेको मदनकृष्ण बताउँछन् । उनी भन्छन्, “यो गीतको हरेक भर्सनको आ–आफ्नै टेस्ट छ । तपाईंको छुट्टै छ, मार्मिक लामाको छुट्टै छ । मिलन नेवारको छुट्टै छ र मेरो छुट्टै छ ।”

झन्डै एक घण्टाको भलाकुसारीमा उनीहरुले धेरै कुरा सेयर गरे । कोरोना महामारीका कारण बियोन्से नेपालमै अल्झिन पुगिन् । यो बसाइँ बियोन्सेका लागि नौलो पहिचान दिने समय बन्यो । नेपाली संगीतप्रेमी माझ निकै रुचाइएको र छोटो समयमै लोकप्रिय बनेको फूलबुट्टे सारी।।। बियोन्सेले गाएपछि उनको चर्चा चुलियो । त्यो पल आफ्नो जिन्दगीकै सबैभन्दा अमूल्य सम्झना भएको बियोन्से बताउँछिन् ।

लकडाउनका कारण नेपाल बसाइँका क्रममा होटेलको कोठामा रहँदा बियोन्सेको दैनिकी युट्युबमा गीतहरु सुन्दै–हेर्दै बित्न थाल्यो । उनलाई नेपाली गीतबारे जान्ने चाहना बढ्दै गयो । एक दिन उनले सुनिन्, फूलबुट्टे सारी।।। । जुन मदनकृष्णले गाएका थिए ।

बियोन्सेले मदनकृष्णसँग भनिन्, “मलाई तपाईंको आवाज र गायिकी अनि लवजले यसरी तान्यो कि म पटक–पटक तपाईंको त्यो गीत हेर्न थालेँ । त्यसपछि मैले विस्तारै तपाईंको लवजमा गुनगुनाउन थालेँ । अन्ततः आजको दिन सम्भव भयो, केवल तपाईंकै कारण ।”

बियोन्सले मदनकृष्णको सामु उनकै लवजमा गीत गाएर पनि सुनाइन । र, दुवैले सँगै गुनगुनाए पनि ।

बियोन्सेको अनुरोधमा मदनकृष्णले पनि केही लाइन गाएर सुनाए । बियोन्सेले श्रेष्ठको आवाजलाई ‘गोल्डेन भ्वाइस’ को दर्जा दिइन् ।

गायनबाटै करियर सुरु गरेका कलाकार श्रेष्ठ आफूलाई विशुद्ध गायकको रुपमा चिनाउन चाहन्थे । तर, पछि अभिनय र हास्य विधामा प्रवेश गरेसँगै गायनबाट उनको दूरी बढ्यो । यद्यपि, मदनकृष्णले अभिनयसँगै गायनलाई पनि अघि बढाउने प्रयास गरिरहे ।

पछिल्लो समय भने स्वास्थ्यमा देखिएको समस्याका कारण उनले गायनबाट बिदा नै लिन लागिसकेका थिए । मदनकृष्णले बियोन्सेसँग भने, “गायन मलाई भगवान्ले दिएको उपहार हो । तर, पार्किन्सनका कारण म गायन क्षेत्रबाट केही टाढा बस्नुपर्‍यो र मैले अलमोस्ट छोडिसकेको थिएँ । तर, जब राजनराज शिवाकोटीले मलाई यो गीत गाउन अफर गर्नुभयो, मैले नकार्न सकिनँ र किन प्रयास नगर्ने त भन्ने सोचर हुन्छ भनेँ ।”

बियोन्सेले मदनकृष्णसँग युगल गीत गाउने इच्छा पनि व्यक्त गरिन् । “यदि, उहाँको मन्जुरी छ भने मलाई उहाँसँग युगल गीत गाउन पाउँदा निकै खुसी लाग्नेछ,” उनले भनिन् ।

मदनकृष्णले पनि बियोन्सेसँग युगल गीत गाउने इच्छा जाहेर गरे । “हुन्छ नि किन नहुने, तर तपाईंसँग समय छ रु तपाईं त आफ्नो देश फर्कँदै हुनुहुन्छ,” मदनकृष्णले भने । मदनकृष्ण साँच्चै तयार भए बियोन्सेले यसका लागि समय मिलाउने वाचा पनि गरिन् ।

नेपाली गीत गाएकोमा मदनकृष्णले बियोन्सेलाई धन्यवाद दिए । “प्रविधिकै कारण आज एक देशको गीत, गायक, कलाकारबारे अर्को देशकाले सजिलै सुन्न र थाहा पाउन सक्छन् । यसरी एक देशको गायकले अर्को देशको गीत गाउनुले दुई देशबीच र कलाकारको सम्बन्ध सुमधुर बन्छ,” मदनकृष्णले भने, “त्यसैले म संगीतलाई एउटा पुल, ज्याकको संज्ञा दिन चाहन्छु ।”

तपाईको प्रतिक्रिया