कर्णालीमा शाही नेतृत्वको सरकार धरापमा

एमालेका तीन जना मन्त्रीहरुले राजीनामा दिएसँगै शाही नेतृत्वको कर्णाली प्रदेश सरकार पद धरापमा परेको छ । चैत ४ गते एमाले संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । तर, त्यतिबेला एमालेकै खनाल–नेपाल समूहका सांसदले समर्थन फिर्ता नलिने बताएको थियो । तर पछिल्लो समय एमाले एक ढिक्का भएपछि प्रदेश सरकार अल्पमतमा पर्ने र एमालेले समर्थन फिर्ता लिनासाथ सरकार ढल्ने पक्कापक्की देखिन्छ ।

चैत ४ गतेको एमाले संसदीय दलको बैठकलाई नेपाल–खनाल समूहले ‘गुटको बैठक’ भन्दै मुख्यमन्त्रीलाई आफूहरुको समर्थन कायमै रहेको बताएको थियो । यतिबेला भने खनाल–नेपाल पक्षले पार्टीकै लाइनअनुसार समर्थन फिर्ता लिने मनस्थिति बनाएपछि सरकार ढल्ने अवस्थामा पुगेको हो ।

अब कर्णाली प्रदेशसभाको ४० मध्ये २० सिट जितेको नेकपा एमाले एक ढिक्का भएसँगै नयाँ सरकार गठनका लागि दाबी गर्ने अवस्थामा पुगेको छ । कर्णाली प्रदेशसभा एमाले संसदीय दलका नेता यामलाल कँडेललाई मुख्यमन्त्री बनाउने गृहकार्य भइरहेको एमाले स्रोतले जनाएको छ ।

नेपाल पक्षधर सांसद सुशील थापाले एमाले एक ठाउँमा उभिएर सरकारलाई दिएको समर्थन फिर्ता लिने कुराका कसैको आपत्ति नभएको बताए । ‘एक दुईजना साथीहरु ऊ बेला रुष्ट हुनु स्वाभाविक नै हो । वृहत छलफलपछि एकढिक्का भइसकेको अवस्था छ’, उनले भने ।

थापाले मुख्यमन्त्री शाहीलाई नैतिकताका आधारमा राजीनामा दिन पनि सुझाव दिए ।

ओली पक्षधर मानिएका सांसद गुलाबजङ्ग शाहले कर्णालीमा एमालेको बाहेक अरुको सरकार बन्ने परिकल्पना पनि नगर्न आग्रह गरे । उनले भने, ‘तपाई आफै अनुमान गर्नुस् न ! ४० जना सांसदमध्ये २० जना (सभामुख राजबहादुर शाहीसहित) एमालेका सांसद रहेको प्रदेशमा कसको सरकार बन्ने भन्ने कुरा पनि सोधिरहनु पर्ला र ! तपाई आफै अनुमान गर्नुस् न ।’

प्रदेशसभाको ४० मध्ये २० सांसद एमालेका छन् । सभामुख राजबहादुर शाही बाहेक १९ जनामा ओली पक्षमा १० र नेपाल पक्षमा ९ जना बाँडिएका थिए । सभामुखले निर्णायक हुने अवस्थामा बाहेक मतदान गर्न नपाउने भएकाले संसदीय समीकरणमा एमालेका १९ जना सांसद छन् ।

प्रदेशसभामा माओवादी केन्द्रसँग १२ सिट छ । माओवादीले एमालेमा लागेका सांसद धर्मराज रेग्मीलाई कारबाही गरेपछि सांसद संख्या घटेको हो ।


error: Alert: Content is protected !!