पत्रकार महासंघको नयाँ नेतृत्वका लागि आज मतदान

काठमाण्डाै – नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । काठमाण्डौ उपत्यकासहित देशभर महासंघले तोकेको केन्द्रमा बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुनेछ ।

७७ जिल्लाको सम्बन्धित जिल्ला शाखामा, ४२ प्रतिष्ठानको विभिन्न १९ स्थानमा र एक एसोसियटको दशरथ रङ्गशालामा गरी ९७ केन्द्र तोकिएको छ । केन्द्रीय समितिको निर्वाचन पहिलो पटक प्रत्यक्ष प्रणालीबाट हुन लागेको हो । महासंघको केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला शाखा र विभिन्न प्रतिष्ठान तथा एसोसिएटमा नयाँ नेतृत्वका लागि १३ हजार १२२ सदस्यले एकसाथ मतदान गर्दैछन् ।

महासंघको ४९ पदाधिकारीका लागि १४५ जनाको उम्मेदवारी परेको छ । महासंघका सबै संरचनामा पूर्ण समावेशिताको व्यवस्था गरिएको छ । महासंघको आगामी नयाँ नेतृत्वका लागि केन्द्रीय अध्यक्षमा निर्मला शर्मा र विपुल पोखरेल प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् । यसैगरी गजेन्द्रसिंह बुढाथोकीले पनि अध्यक्षमा प्रतिस्पर्धा गर्नुभएको छ ।

उम्मेदवारहरूले श्रमजीवी पत्रकारको पेसागत सुरक्षा र पत्रकार महासंघको शुद्धीकरणलाई मुख्य एजेन्डा बनाएका छन् । महासंघ केन्द्रको वरिष्ठ उपाध्यक्षमा माधव नेपाल र रमेश विष्ट, समावेशी उपाध्यक्षमा उदय जीएम, अवधेश झा र मोहनकुमार सिंहले उम्मेदवारी दिएका छन् । महिला उपाध्यक्षमा दाना केसी र बाला अधिकारी तथा केन्द्रीय महासचिवमा रोशन पुरी, बालकृष्ण बस्नेत र सुवोध गौतमबीच प्रतिस्पर्धा हुँदै छ ।

प्रदेश तथा जिल्ला समितिहरूको नयाँ नेतृत्वका लागि पनि आजै मतदान हुँदै छ । प्रदेश, जिल्ला, एसोसियट र प्रतिष्ठान शाखाका केही ठाउँमा भने सर्वसम्मत नयाँ नेतृत्व चयन भएको छ । प्रदेश संरचनामा महासंघमा १० प्रदेश मानेर निर्वाचन क्षेत्र छुट्याइएको छ ।

प्रदेशबाहेक काठमाण्डौ, ललितपुर र भक्तपुरमा उपत्यका प्रदेश संरचना बनाइएको छ । उपत्यकाका तीन जिल्लाबाहेक वाग्मती प्रदेशका अन्य जिल्ला समेटेर बाग्मती प्रदेश बनाइएको छ । एसोसिएटलाई पनि प्रदेशस्तरकै मान्यता दिइएको छ ।

तपाईको प्रतिक्रिया