कर्णालीमा नयाँ सरकार गठनकाे कसरत

मुख्यमन्त्रीले राजिनामा दिने वा विश्वासकाे मत लिने बारे अन्याैलता

सुर्खेत । कर्णाली सरकारबाट एमाले बाहिरिएपछि नयाँ सरकार गठनको कसरत सुरु भएको छ । तर मुख्यमन्त्रीले राजीनामा नदिएको र विश्वासको मत पनि लिने प्रक्रिया सुरु नभएकाले अन्याैलता कायमै छ । एमाले संसदीय दलले चैत ४ गते सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि सरकारमा सहभागी तीन मन्त्रीले मंगलबार मात्र राजीनामा दिएका थिए ।

अहिले कर्णाली सरकारको नेतृत्व १२ जना सांसद रहेको माओवादी केन्द्रका संसदीय दल नेता महेन्द्रबहादुर शाहीले गरिरहेका छन् । उक्त दलका १३ सांसदमध्ये दैलेखका धर्मराज रेग्मी एमाले प्रवेश गरेपछि उनको सांसद पद खारेजीको प्रक्रियामा छ । ४० सदस्यीय कर्णाली प्रदेशसभामा एमालेका २०, कांग्रेसका ६ र राप्रपाका १ जना सांसद छन् ।

कर्णाली प्रदेश सरकार संविधानको धारा १६८ (२) अनुसार बनेको हो । उक्त धारामा कुनै दलको स्पष्ट बहुमत नरहेको अवस्थामा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्न सकिने उल्लेख छ । यसरी बनेको सरकारलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिए मुख्यमन्त्रीले राजीनामा दिनुपर्छ वा ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । मुख्यमन्त्री शाहीले भने राजीनामा दिएका छैनन् । विश्वासको मत लिन संसद् अधिवेशनसमेत बोलाइएको छैन ।

एमालेका प्रमुख सचेतक गुलाबजंग शाह मुख्यमन्त्री शाहीलाई राजीनामा दिन आफूहरूले आग्रह गरेको बताउँछन् । ‘कर्णालीमा एमालेको समर्थन र सहयोगबिना कुनै पनि सरकार बन्न सक्दैन,’ उनले भने, ‘अब एमालेको नेतृत्वमा सरकार बन्ने बलियो सम्भावना छ, विश्वासको मत नै गिरेको अवस्थामा मुख्यमन्त्रीज्यू पदमा टाँसिरहनुपर्ने अवस्था छैन ।’

मुख्यमन्त्री शाहीले भने राजीनामा दिनेरनदिनेबारे स्पष्ट खुलाएका छैनन् । सरकार संकटमा रहे पनि संकट समाधान गर्ने धेरै विकल्प रहेको उनको भनाइ छ । यस हिसाबले उनी संसद्मा विश्वासको मत लिने अन्तिम कसरतमा रहेको देखिन्छ । उनको यो प्रयासमा कांग्रेस र राप्रपाको समर्थनले मात्र पुग्दैन, एमालेका कम्तीमा दुई जना सांसदले ह्वीप उल्लंघन गर्नुपर्ने हुन्छ । यो अत्यन्त कठिन रहेको एमालेका सांसदहरू बताउँछन् ।

मुख्यमन्त्री शाहीले राजीनामा नदिए पनि वैशाख सुरुवातमै नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ । सबैभन्दा सहज र पहिलो प्रक्रिया एमालेले एकल सरकार बनाउने हुनेछ । तर यसका लागि एमालेभित्रै अन्तरसंघर्ष सुरु हुने देखिन्छ ।

संसदीय दलका नेता यामलाल कँडेललाई माधवकुमार नेपाल पक्षीय नेता प्रकाश ज्वालाले सहज रूपमा स्वीकार्न कठिन छ । ‘एमालेभित्र कुरा मिल्यो भने सरकार गठनका लागि अर्को दल आवश्यक पर्दैन,’ एमालेका एक सांसदले भने, ‘एमालेभित्र कुरा मिलेन भने सरकार गठनका लागि जटिलता आउन सक्छ ।’

तपाईको प्रतिक्रिया