भारतमा कोरोनाको कहर : कतै पनि बेड नपाएपछि पीडित भन्छन्– सुई हानेर मार्देओ बरू

भारतको महाराष्ट्रमा रहेको चन्द्रपुरमा कोरोना अनियन्त्रित भएको छ । त्यहाँको स्वास्थ्य प्रणाली पूरै ध्वस्त भएको छ ।

कुनै पनि अस्पतालमा बेड उपलब्ध छैन । अस्पतालको बेड खोज्दै रोगीहरू तेलंगाना पुगिरहेका छन् ।

एकजना छोराले दुई दिनदेखि आफ्ना पितालाई एम्बुलेन्समा राखेर यताउता लगेको भए पनि कतै बेड पाएनन् । हैरान भएर छोराले बेड छैन भने बुवालाई सुई घोचेर मार्देओ बरू भन्दै मार्मिक पुकार गरेका छन् ।

सागर नारशेट्टीवारका ७१ वर्षीय पिता कोरोनापीडित हुन् र उनले अस्पतालमा बेड पाएका छैनन् । सागर अनेकौं सरकारी तथा निजी अस्पताल पुगेका थिए तर तेलंगाना पुग्दासम्म पनि उनले बेड पाएनन् ।

फर्किएर उनले चन्द्रपुरको कोभिड अस्पतालमा एम्बुलेन्स राखेर प्रशासनसँग मद्दतको हारगुहार गरेका छन् । घर फर्केर जाने पनि स्थिति छैन ।

सागरका अनुसार, सबैतिर हालत एकदमै खराब छ । रोगीहरूको संख्या बेस्सरी बढेपछि स्वास्थ्य सुविधाहरू नराम्ररी प्रभावित भएका छन् । अस्पतालदेखि मसानघाटसम्म सबैतिर एकदमै खराब स्थिति छ ।

तपाईको प्रतिक्रिया