दिल्लीमा लकडाउन भएपछि मदिरा पसलमा भिड

एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीमा ६ दिनसम्म लक डाउन हुने भएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सोमबार पत्रकार सम्मेलन गरी लक डाउन घोषणा गरेका हुन् । दिल्ली सरकारले सोमबार (अप्रिल १९) राती १० बजेदेखि अप्रिल २६ बिहान ५ बजेसम्म लक डाउन गर्न लागेको हो ।

लक डाउन घोषणा हुनासाथ दिल्लीका मदिरा पसलहरुमा ग्राहकको घुईंचो लाग्न सुरु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । दिल्लीका प्रमुख बजारहरुमा मदिरा किन्नेहरुको भीड लागेको छ । ६ दिनसम्म बजार नखुल्ने भएकाले मदिरा जोहो गर्नेहरुको भीड लागेको हो । मदिरा किन्नका लागि दिल्लीबासीहरु लामो लाइनमा बसेका छन् ।

दिल्लीमा पछिल्लो २४ घण्टामा २३ हजार ५०० जनामा कोभिड–१९ देखिएको छ । लक डाउन घोषणा गर्दै मुख्यमन्त्री केजरीवालले लक डाउनको समयमा स्वास्थ्य व्यवस्था सुधारका लागि काम गरिने जानकारी गराएका छन् । केजरीवालले प्रवासी कामदारहरुलाई सानो लक डाउन भएकाले शहर छोडेर नजान आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया