माओवादीका कारण काँग्रेसमा अलमल ?

काठमाडौं । २० चैतमा बसेको केन्द्रीय समिति बैठकबाट प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने औपचारिक निर्णय गरेको नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्ने विषयमा भने अरुचि देखाउँदै आएको छ ।

कांग्रेसले सो बैठकबाट प्रधानमन्त्री ओलीको राजीनामा माग गर्ने र आफ्नै नेतृत्वमा अन्य दलसहितको गठबन्धन बनाएर सरकार गठनको पहल गर्ने निर्णय गरेको भए पनि संख्या सुनिश्चित नभएको भन्दै कांग्रेसले सत्ताको नेतृत्व गर्न अरुचि देखाउँदै आइरहेको हो ।

सरकारको विकल्प खोज्नुपर्ने विषयलाई एजेन्डा बनाउनुपर्ने कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूहको अडानपछि सभापति शेरबहादुर देउवाले २० चैतको बैठकबाट रुचि नहुँदा नहुँदै पनि सो निर्णय गराएका थिए ।

त्यसपछि कांग्रेसले गठवन्धन बनाउने विषयमा माओवादी केन्द्र र जनता समाजवादी पार्टीसँग पनि छलफल गरेको थियो । छलफलमा सहभागी जसपाका नेता महन्थ ठाकुरले समेत कांग्रेसलाई सत्ताको नेतृत्व गर्न रुचि नभएको बताउँदै आएका छन् ।

सोमबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा सरकार गठनको विषय प्रवेश नै नभएपछि कांग्रेसको सत्ता अरुचि झनै प्रस्ट देखिएको हो । कांग्रेसकै नेताले समेत हाल कांग्रेसले निर्णय गर्दैमा सरकार बन्ने अवस्था नरहेको तर प्रतिपक्ष सधैं सरकारको नेतृत्वका लागि प्रयासरत रहने बताउँदै आइरहेका छन् ।

कांग्रेस सभापति देउवा स्वयंले समेत माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएका कारण सरकार गठनको विषय ओझेलमा परेको बताउँदै आइरहेका छन् ।

देउवाले औपचारिक कार्यक्रममा नै ‘माओवादी केन्द्रले सरकार गठनका लागि पहिले सरकारलाई दिएको समर्थन फिर्ता लिनुप¥यो नि’ भन्दै सरकारलाई माओवादीले दिएको समर्थनकै कारण ‘सरकारबाट ओलीलाई बिदा गर्न समस्या भएको’ बताउँदै आएका छन् ।

यस्तै, जसपा पनि कुन र कस्तो सहमतिमा नयाँ सत्ता गठबन्धनमा सहभागी हुन्छ भन्ने स्पष्ट भइनसकेको अवस्था छ । हाल जसपाको झुकाव कांग्रेससँग भन्दा बढी प्रधानमन्त्री ओलीको दल एमालेतर्फ देखिएको छ । राजधानी दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया