राष्ट्रियसभा सदस्यको रिक्त स्थानमा उपनिर्वाचनको तयारी दल दर्ताको लागि वैशाख १४ गतेसम्मको म्याद

काठमाडौं– निर्वाचन आयोगले बाग्मती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्यको उपनिर्वाचन तयारी थालेको छ। आयोगका प्रवक्ता सहसचिव राजकुमार श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै उप निर्वाचन तयारीसम्बन्धी कार्य प्रारम्भ भएको जनाएका हुन्।

नेपालको संविधानको धारा २६९ बमोजिम आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरुलाई निर्वाचन प्रयोजनका लागि नेपालको संविधानको धारा २७१ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम राजनीतिक दलहरुलाई राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनको लागि २०७८ साल बैशाख १० गतेदेखि १४ गतेसम्म कार्यालय समयभित्र आयोगमा राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को अनुसूची–१२ बमोजिमको ढाँचामा निवेदन दिन आयोगले सूचना जारी गरेको छ।

राष्ट्रियसभा सदस्य उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष रूपमा सम्पन्न गर्न निर्वाचन आयोगले सबै सरोकारवालाहरूसँग अनुरोध पनि गरेको छ। बागमती प्रदेशमा अन्य समूह तर्फबाट राष्ट्रियसभा सदस्य पदमा निर्वाचित रामबहादुर थापाको पद रिक्त भएको छ।

नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमालेमा प्रवेश गरेपछि उनलाई पार्टीले जिम्मेवारीबाट हटाएको थियो। राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ५ बमोजिम मिति वैशाख ६ गते सरकारले राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मिति घोषणा गरेको थियो।

राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६१ ले कुनै सदस्यको पदावधि ६ महिनाभन्दा बढी कायम रहदै कुनै कारणले उनको पद रिक्त भएमा रिक्त भएको ३५ (पैँतीस) दिनभित्रसरकारले तोकेको मितिमा आयोगले त्यस्तो रिक्त सदस्यको पद ऐन बमोजिम बाँकी अवधिका लागि उपनिर्वाचनद्वारा पूर्ति गर्ने कानूनी व्यवस्था बमोजिम नेपाल सरकारले निर्वाचन आयोगको परामर्शमा उपनिर्वाचनको मिति तोकेको हो। थापाको रिक्त स्थानमा आगामी जेठ ६ गते निर्वाचन हुनेछ।

तपाईको प्रतिक्रिया