राजस्थानलाई हराउँदै बैंग्लोर तालिकाको शीर्षमा

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपीएल) टि ट्वेन्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंग्लोर शानदार जित दर्ता गरेको छ।

गएराति वाङ्खडे स्टेडियम मुम्बईमा भएको खेलमा बैंग्लोरले राजस्थान रोयल्सलाई १० विकेटले पराजित गरेको हो। राजस्थानले जितका लागि दिएको १ सय ७८ रनको चुनौती बैंग्लोरले १६ दशमलब ३ ओभरमा विना क्षति पूरा गर्‍यो। बैंग्लोरका देवदत्त पाडिक्कलले अविजित १ सय १ रनको योगदान गरे। ५२ बल खेलेका उनले ६ छक्का र ११ चौका प्रहार गरेका थिए। कप्तान विराट कोहलीले नटआउट ७२ रन बनाए।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेकोे राजस्थानले पुरै २० ओभर खेल्दै ९ विकेट गुमाएर १ सय ७७ रन बनाएको थियो । उसका लागि शिभम दुवेले सर्वाधिक ४६, राहुल टेवाटियाले ४०, रियान परागले २५, कप्तान सञ्जु स्याम्सनले २१ र क्रिस मोरिसले १० रन जोडेका थिए। जोस बट्लर ८ रनमा आउट हुँदा डेभिड मिलर बिना रन पेभेलियन फर्किए।

अहिलेसम्म खेलेका सबै चार खेलमा जित निकालेको बैंग्लोर ८ अंकसहित तालिकाको शीर्ष स्थानमा छ। एक खेल मात्रै जितेको राजस्थान भने तालिकाको पुच्छारमा छ। प्रतियोगिता अन्तर्गत आज बेलुकी पंजाव किंग्स र मुम्बइ इण्डियन्सबीच प्रतिष्पर्धा हुनेछ।

तपाईको प्रतिक्रिया