बन्द भएको १०० वर्ष पुरानो घडी भूकम्पको धक्कापछि चल्न थाल्यो

काठमाडौं । भूकम्पीय जोखिमको दृष्टिले जापान विश्वमै सर्वाधिक खतरनाक देश हो । यसको कारणचाहिँ जापान पृथ्वीको सबैभन्दा अशान्त टेक्टोनिक प्लेटमाथि पर्नु नै हो । अशान्त टेक्टोनिक प्लेटकै कारण जापान संसारमै सर्वाधिक भूकम्पको केन्द्रकै रुपमा रहेको छ ।

भूकम्पकै कारण जापानमा एउटा अनौठो घटना भएको छ । जापानमा एक सय वर्ष पुरानो बन्द भएको एउटा घडी भूकम्पकै कारण पुनः चल्न थालेको छ ।

यो घटना जापानको यमामोटोमा भएको हो । यमामोटोको एक बौद्ध स्तुपमा एक सय वर्ष पुरानो एउटा विशाल आकारको घडी राखिएको थियो । तर सन् २०११ मा जापानमा गएको विनाशकारी भुइँचालोका कारण उक्त घडी बन्द भयो । त्यसबेलादेखि स्तुपको उक्त घडी चलेको थिएन । तर गत फेब्रुअरीमा गएको भूकम्पपछि चाहिँ सो घडी पुनः चल्न थालेको छ ।

भूकम्पकै कारण १० वर्षसम्म बन्द भएको घडी भूकम्पकै धक्काले चल्न थालेको घटनाले धेरैलाई अचम्मित बनाइदिएको छ । कतिपयले चाहिँ भूकम्पले हल्लाउँदा घडी भित्र जम्मा भएको धूलो झरेको र घडी चल्न थालेको हुनसक्ने लख काटेका छन् ।

दश वर्षसम्म बन्द भएको घडी भूकम्पपछि चल्न थालेसँगै त्यहाँ सो घडी निर्माता कम्पनीका एक प्रतिनिधि समेत पुगेर अवलोकन गरेका थिए ।

सन् २०११ मा गएको भूकम्पपछि आएको सुनामीको छाल स्तुपभित्र समेत छिरेर मन्दिरलाई तहसनहस बनाइदिएको थियो । सुनामीबाट स्तुपका खम्बा तथा छत मात्र बँचेका थिए । एउटा खम्बामा टाँगिएको हुनाले उक्त घडीलाई पनि पानीले बगाएन ।

सुनामी पश्चात् स्तुपाको पुनर्निर्माण भयो । उक्त घडी मर्मत गर्ने प्रयास भएपनि त्यो सफल भएन । जसका कारण घडीलाई बन्द भएकै अवस्थामा भित्तामा टाँगियो । तर मर्मत गर्दा पनि नचलेको सो घडी भूकम्पको एक धक्काबाट पुनः चल्न थालेको हो ।

–एजेन्सीको सहयोगमा

तपाईको प्रतिक्रिया