माओवादी केन्द्रले रौतहटका २ मेयर र ५ उपमेयरलाई पार्टीबाट हटायो

जनकपुर । नेकपा (माओवादी केन्द्र) ले एमालेको ओली पक्षमा लागेका रौतहटका २ मेयर र ५ उपमेयरलाई पार्टीबाट निष्कासन गरेको छ।

माओवादीबाट चुनाव जितेका उनीहरू एमालेको ओली खेमातिर लागेपछि पदमुक्त गरिएको माओवादी रौतहटका सचिव देवेन्द्र पटेलले जानकारी दिए। पटेलका अनुसार उनीहरूलाई पदबाट मुक्त गरिदिन पार्टी केन्द्रले निर्वाचन आयोगलाई पत्राचार समेत गरिसकेको छ।

निष्कासनमा परेकाहरूमा रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साह, कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहा, यमुनामाई गाउँपालिकाकी उपाध्यक्ष गीतादेवी साह, माधवनारायण नगरपालिकाका उपमेयर सिमल साह, फतुवा विजयपुर नगरपालिकाकी उपमेयर कान्तिदेवी साह, मौलापुर नगरपालिकाका उपमेयर गौरीशंकर जयसवाल र देवाहीगोनाही नगरपालिकाकी उपमेयर परनिया देवी रहेका छन्।

उनीहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निस्कासन गरिएको सचिव पटेलले जानकारी दिए। मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साह सहरी विकास मन्त्री प्रभु साहकी पत्नी हुन्।

ओली खेमातिर लागेपछि माओवादीले उनीहरूलाई स्पष्टीकरण सोधेको थियो। तर, कसैले पनि स्पष्टीकरण पेश नगरेपछि पार्टीले कारबाही गरेको बताइएको छ। २०७४ सालको स्थानीय तहको निर्वाचनमा उनीहरू सबै माओवादी केन्द्रबाट निर्वाचित भएका थिए। माओवादी परित्याग गरेका उनीहरूलाई पार्टी केन्द्रीय समितिको बैठकले पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासित गरेको हो।

तपाईको प्रतिक्रिया