पूर्व रानी कोमलको अवस्था गम्भीर, प्लाज्मा थेरापीबाट उपचार थालियो

काठमाडौं । कोरोना संक्रमणबाट गम्भीर बनेकी पूर्व रानी कोमल शाहको प्लाज्मा थेरापीबाट उपचार सुरु गरिएको छ।

थापाथलीस्थित नर्भिक अस्पतालको आईसीयूमा उपचाररत पूर्व रानी कोमलको बिहीबार साँझदेखि प्लाज्मा थेरापीबाट उपचार थालिएको अस्पतालले जनाएको छ। भारतको कुम्भ मेलाबाट फर्किएलगत्तै पूर्व राजा ज्ञानेन्द्र शाहसँगै कोमल पनि कोरोना संक्रमित भएकी थिइन्। अवस्था गम्भीर बनेपछि उनलाई आईसीयूमा राखेर अक्सिजन दिइएको थियो।

अस्पतालका अनुसार प्रतिमिनेट १० किलो अक्सिजन दिनुपरेको थियो। आज पनि अस्पतालले कोमललाई ‘हाई फ्लो’ अक्सिजनको सपोर्टमा राखिएको छ। सँगै संक्रमित बनेका पूर्व राजा ज्ञानेन्द्रको अवस्था भने स्थिर रहेको छ।

तर, उनलाई पनि अक्सिजनको सपोर्ट दिइएको अस्पतालले विज्ञप्तिमार्फत जनाएको छ। यस्तै, पूर्व अधिराजकुमारकी प्रेरणाको अवस्था भने निकै सामान्य छ। उनलाई अक्सिजनको सपोर्ट दिनु परेको छैन। तीनैजना गत शनिबार नर्भिक अस्पतालमा भर्ना भएका थिए।

तपाईको प्रतिक्रिया