कोरोना संक्रमणबाट बाँकेमा थप चारजनाको मृत्यु

बाँके । बाँकेका अस्पतालमा भर्ना भएका थप चार कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा बाँकेका तीन र एक बर्दियाका रहेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए।

स्रोत व्यक्ति वलीका अनुसार वैशाख १४ गते भर्ना भएका बैजनाथ गाउँपालिका–२ बाँकेका २० वर्षीय पुरुष र १७ गते भर्ना भएका राजापुर नगरपालिका–२ बर्दियाका २७ वर्षीय पुरुषको शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो।

यसैगरी वैशाख १७ गते भर्ना भएकी कोहलपुर नगरपालिका–११ की ४० वर्षीया महिलाको उपचारका क्रममा गए शनिबार राति करिब ८ बजे भेरी अस्पतालमा मृत्यु भएको थियो। खजुरा गाउँपालिका–३ का ५५ वर्षीय पुरुषको पनि राति मृत्यु भएको छ।

वैशाख १७ गते गरिएको एन्टिजेन परीक्षणबाट उनलाई कोभिड पुष्टि भएपश्चात् गाउँपालिकाले खजुरामा बनाएको आइसोलेशनमा भर्ना भएका उनको उपचारकै क्रममा मृत्यु भएको स्रोत व्यक्ति वलीले जानकारी दिए। योसँगै बाँकेमा कोरोना भाइरस संक्रमणबाट १२३ र उपचारका क्रममा बाहिरी जिल्लाबाट आएका ११९ जनाको मृत्यु भएको छ।

तपाईको प्रतिक्रिया