म बहुमतमै छु, प्रदेशसभा सचिवालयले नै जालसाजी गर्‍यो : शंकर पोखरेल

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सभा सदस्यहरूको बहुमत आफूसँगै रहेको दाबी गरेका छन्। सोमबार बिहान (आज) फेसबुकमा लामो स्टाटस लेख्दै उनले आफ्नो धारणा राखेका हुन्।

प्रदेश सभामा अविश्वास प्रस्ताव सामना गर्न नसकेपछि पोखरेलले पदबाट आइतबार बिहान राजीनामा दिएका थिए। तर, आफूसँग बहुमत रहेको दाबी गर्दै पोखरेलले प्रदेश सभा सदस्यहरूको हस्ताक्षरसहित विवरण बुझाएपछि प्रदेश प्रमुख धर्मनाथ यादवले पद तथा गोपनीयताको सपथग्रहण गराएका थिए।

पोखरेलले सपथ लिँदा-नलिँदै नेकपा (एमाले) मा रहेकी भनिएकी सांसद् विमला कुमारी खत्रीले माओवादी केन्द्र रोजेकी थिइन्। अन्य केही सांसदले एमाले त्यागेको तथा माओवादी(कांग्रेस गठबन्धनलाई सघाउने बताइसकेका छन्।

बिहान राजीनामा र साँझ पुनस् मुख्यमन्त्री पदको सपथ लिएपछि प्रदेश सभामा बहुमत नपुग्ने पक्कापक्की भएपछि पोखरेलले यसबारे फेसबुकमा लेखेका हुन्। लुम्बिनी प्रदेशको यथार्थु शीर्षक दिएर उनले आफूले प्रदेशको बहुमत प्राप्त दल एमाले रहेको बखतमा मुख्यमन्त्रीमा दाबी गरेको उल्लेख गरेका छन्।

​विमला कुमारी खत्रीले माओवादी रोजेपनि सर्वोच्च अदालतले फाल्गुन २३ गते गरेको फैसलापछि उनी एमालेकै तर्फबाट प्रदेश सभा दलमा सहभागी हुँदै आएकी, उक्त विवरण त्यतिबेला नै प्रदेशसभामा दर्ता भइसकेको र अहिले आएर माओवादी केन्द्र रोजेको प्रचार गर्नु कानुन विपरीत कार्य भएको पोखरेलले जिकिर गरेका छन्। यस प्रकृयामा प्रदेशसभा सचिवालयकै जालसाजीपूर्ण सहभागिता देखिएको उनको दाबी छ।

पार्टी छाडेका भनिएका लगायत अन्य सांसदहरूले समेत दलको बैठकमै उपस्थित रहेर सरकारमा दाबी गर्ने निर्णयमा सहमती जनाएका पोखरेलले उल्लेख गरेका छन्। साथै, सूर्य चिह्नबाट चुनाव लडेका उनीहरूको समर्थन कानुनी रूपमा समेत अन्य दललाई हुन नसक्ने उनको दाबी छ।

तपाईको प्रतिक्रिया