कर्णालीमा कोरोना संकट : अक्सिजन नपाएरै संक्रमितको मृत्यु

सुर्खेत – सुर्खेतको चिंगाड गाउँपालिकाका प्रेम विक दुई हप्ताअघि भारतबाट घर फर्किएका थिए। घर, नपुग्दै स्वास्थ्य अवस्था जटिल बन्यो। कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिएपछि वीरेन्द्रनगरमा चेकजाँच गराए। चेकजाँच गर्दा उनलाई कोरोना संक्रमण भएको पुष्टि भयो।

  • तस्बिर : अक्सिजन अभावका कारण मृत्यु भएका प्रेम विक

स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनी दुई हप्ताअघि कोरोना विशेष अस्पताल (प्रदेश अस्पताल) मा भर्ना भए। दुर्भाग्य उनले कोरोनालाई जित्न सकेनन्। बेला–बेलामा हुने अक्सिजन अभावका कारण उनको आइतबार दिउँसो मृत्यु भयो।

‘अस्पतालमा राम्रो उपचार भएन, अक्सिजन नपाएर देवरको मृत्यु भएको हो,’ उनका भाउजु कमलाले विकले भनिन्, ‘सहज रुपमा अक्सिजन पाउन सकेको भए उहाँ बाँच्नु हुन्थ्यो।’ अस्पतालले आइसीयू अथवा भेन्टिलेटरमा राखेर उपचार गरेको भए देवरको मृत्यु नहुने उनको तर्क छ।

‘अक्सिजन पाउन त खोसाखोस गर्नुपथ्र्यो, राम्रो उपचार पाउनका लागि पहुँच भएन,’ कमलाले भनिन्, ‘उपचारमा लाप्रवाही भएरकै कारण उनको मृत्यु भएको हो।’ अवस्था जटिल हुँदा पनि प्रेमलाई अक्सिजन मात्रै दिइएको थियो। गम्भीर अवस्थामा पनि उनले आइसीयू र भेन्टिलेटरको सहायता पाउन सकेका थिएनन्।

संक्रमितका आफन्त (कुरुवाहरू) अक्सिजन शिलिन्डर खोसाखोस गरेको दृष्यले पनि अक्सिजन अभावकै कारण प्रमेको मृत्यु भएको पुष्टि गर्छ। प्रेमको मृत्यु भएको अघिल्लो दिन (शनिबार राति) प्रदेश अस्पतालमा अक्सिजन खोसाखोस नै भएको थियो। मध्यरातमा अक्सिजन खोसाखोस हुँदा कतिपयले अक्सिजन पाउन सकेका थिएनन्। अक्सिजन नपाएकाहरूलाई एउटै शिलिन्डरबाट बाँढेर संक्रमितको उपचार गरेको थियो।

अस्पताल स्रोतले अक्सिजन अभावकै कारण प्रेमको मृत्यु भएको कुरा स्वीकार गरेको छैन। ‘अक्सिजन अभाव भइरहेको छ तर प्रेमको मृत्यु हुनुमा अन्य कारणहरू पनि छन्,’ अस्पताल स्रोतले भन्यो, ‘उहाँलाई सामान्य अक्सिजन मात्रै दिएर बचाउन सक्ने अवस्था थिएन।’

बेड अभावका कारण प्रेमलाई आइसीयू र भेन्टिलेटरमा राख्न नसकेको भने अस्पताल स्वीकार्छ। ‘भर्ना भएका ९० प्रतिशत संक्रमितलाई आइसीयूमा राख्नुपर्ने अवस्था छ, तर पर्याप्त आइसीयू बेड छैन,’ कोरोना संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मी भन्छन्, ‘बेड नभएपछि सबैले आइसीयू र भेन्टिलेटर सेवा दिन सकिंदैन।’ अस्पतालमा २५ बेड आइसीयू र ८ बेड भेन्टिलेटर छन्।

हाल अस्पतालमा ४६ जना संक्रमित उपचाररत छन्। ४६ जनालाई नै अक्सिजन चढाउनुपर्ने अवस्था छ। ‘अस्पतालमा भर्ना भएका सबैको अवस्था जटिल छ,’ स्वास्थ्यकर्मी भन्छन्, ‘संक्रतिले सहज रुपमा अक्सिजन पाउन दैनिक दुई सयबढी शिलिन्डर आवश्यक पर्छ।’

कर्णालीमा हप्ता दिनदेखि अक्सिजनको हाहाकार नै छ। सुर्खेतमा अक्सिजना अभाव भएपछि केही संक्रमित जुम्ला र केही काठमाडौं जान थालेका छन्। आइतबार मात्रै प्रदेश अस्पतालका एक संक्रमितलाई हेलिकोप्टरबाट काठमाडौं पुर्‍याइएको छ।

केही संक्रमित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पुगेका छन्। जटिल प्रकृतिका संक्रमित बढ्दै गए कर्णालीमा स्वास्थ्य संकट पर्ने अवस्था छ। हाल सुर्खेतमा दैनिक १५० अक्सिजन शिलिन्डर आपूर्ति हुँदै आएको छ। वीरेन्द्रनगरमा संक्रमितको चरम अभाव हुन थालेपछि केही युवाले अक्सिजना सहयोग अभियानसमेत सञ्चालन गरेका छन्। देव राना नेपाल समय

तपाईको प्रतिक्रिया