करेला बेच्दै केटी फकाउँदै दीलिप रायमाझी

काठमाडौं । कोरोना संक्रमणको महामारी फेरि सुरु भएसँगै केही दिन यताबाट काठमाडौंसहित मुलुकका थुपैै जिल्ला लकडाउन छन् । जसका कारण नेपाली चलचित्र उद्योग ठप्प जस्तै छ । तर, चलचित्रका अभिनेता म्युजिक भिडियोमा प्रस्तुत भइरहेका छन् ।

यसै क्रममा अभिनेता दीलिप रायमाझी एउटा गीतमा करेल बेज्दै युवती फकाउन व्यस्त देखिएका छन् । संगीतकार राजेन्द्र बजगाईंको गीत तीते करेला…मा अभिनेता दीलिप रायमाझी साइकलमा टोल टोल डुलाएर करेला बेच्ने भूमिकामा प्रस्तुत भएका हुन् । यो गीतको भिडियो सोमबार मात्र रिलिज गरिएको हो । भिडियोको निर्देशन शिव विकले गरेका छन् ।

पछिल्लो समय नयाँ चलचित्र परदेशी–२ मा मुख्य भूमिकामा प्रस्तुत भएका दीलिपले सो चलचित्रको छायांकन केही महिनाअघि सम्पन्न गरेका थिए । त्यसपछि उनी म्युजिक भिडियोमा व्यस्त छन् । अहिलेको अवस्थामा म्युजिक भिडियो आफूहरूका लागि आयस्रोतका माध्यम भएको यी अभिनेताको भनाइ छ । उनले यो नयाँ गीत तीते करेलामा अभिनेत्री नम्रता सापकोटा, अस्मिता कुमारी लामिछाने र नयन सिंहसँग अभिनय गरेका छन् ।

यो गीत नृत्य प्रधान बनेको छ । गीतको भिडियोमा अभिनेता दीलिप करेला बेच्ने बहानामा अस्मितालाई फकाएर आफ्नो बनाउन व्यस्त देखिएका छन् । नम्रताको जोडीका रूपमा नयन प्रस्तुत भएका छन् । भिडियोलाई नृत्य निर्देशक शिव विकले नृत्यप्रधान बनाएका छन् ।

यो गीतलाई संगीतकार राजेन्द्र बजगाईंले गाएका हुन् । उनी पछिल्लो पुस्ताका व्यस्त संगीतकार हुन् । यसै साता मात्र लोकपप विधाबाट उत्कृष्ट संगीतकारको नेपाल म्युजिक एन्ड फेसन अवार्ड जितेको राजेन्द्रले तीते करेला गीतलाई लोकदोहोरी भाकामा तयार गरेका छन् ।

यो गीतमा राजेन्द्रलाई स्वरमा कविता शिवाकोटीले साथ दिएकी छन् । कर्णप्रिय बनेको यो गीतमा संगीत र संगीत संयोजन पनि राजेन्द्र बजगाईंकै हो । गीतको भिडियोलाई अर्जुन तिवारीले छायांकन र विकाश ज्ञवालीले सम्पादन गरेका हुन् ।

तपाईको प्रतिक्रिया