निषेधाज्ञामा चालक अनुमतिपत्र छापिँदै छ ?

काठमाडौं । गत वर्ष बन्दाबन्दीको समयमा तीन सिफ्टमा ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइ गरेको यातायात व्यवस्था विभागले अहिले भने निषेधाज्ञाको समयमा अनुमतिपत्र छापेको छैन । बाँकी रहेका कार्डको सङ्ख्या कम मात्रै रहेको विभागले जनाएको छ ।

विभागमा बाँकी रहेका कार्डको सङ्ख्या १० देखि १५ हजार मात्रै रहेकाले अनुमतिपत्र छाप्न नसकिएको हो । अहिले पनि विभागले झण्डै तीन लाख अनुमतिपत्र छाप्न बाँकी रहेको विभागका प्रवक्ता डा लोकनाथ भुसालले बताए । उनका अनुसार कार्ड खरीदका लागि प्रक्रिया अघि बढाइएको भए पनि आइपुगेको छैन ।

विभागले केही समय पहिले फ्रान्सको एउटा कम्पनीमार्फत १४ लाख कार्ड खरीद प्रक्रिया अघि बढाएको थियो । निर्धारित समयअनुसार अहिलेसम्म कार्ड आइसक्नुपर्ने प्रवक्ता डा भुसालले बताए । भारतीय पद्धतिमा आधारित हुनुपर्नेमा केही प्राविधिक समस्या आएकाले ढिलाइ भएको हो । उनले भने, “अबको एकदुई महिनामा आइपुग्ने देखिएको छ ।”

अहिले विभागले छाप्न बाँकी तीन लाखमध्ये झण्डै आधा डेढ लाख नवीकरण गरिएका अनुमतिपत्र र बाँकी आधा अहिले अनुमतिपत्रको परीक्षा उत्तीर्ण भएका रहेको विभागले जनाएको छ । गत आवमा कोभिड–१९ का कारण यातायात व्यवस्था कार्यालयले नवीकरणलाई निरन्तरता दिए पनि नयाँ अनुमतिपत्रका लागि परीक्षा स्थगित गरेका थिए ।

विभागले गत पुसदेखि अनलाइन माध्यमबाट आवेदन लिइरहेको छ । सोही आवेदनका आधारमा प्रदेशअन्तर्गतका कार्यालयले परीक्षा सञ्चालन गरेको छ । पुसदेखि यता अनुमतिपत्रको परीक्षा पास गर्नेको सङ्ख्या डेढ लाख पुगेको उनले बताए ।


error: Alert: Content is protected !!