अण्डाको मूल्य हालसम्मकै उच्च

चितवन । अण्डाको मूल्य हालसम्मकै उच्च भएको छ। रोगका कारण कुखुरा मरेर उत्पादन घटेपछि मूल्य बढेको हो। लागत मूल्य अत्यधिक बढेका कारण मूल्य बढे पनि उल्लेख्य मुनाफा नहुने कृषकको भनाइ छ।

नेपाल अण्डा उत्पादक संघका केन्द्रीय उपाध्यक्ष किरण ओलीका अनुसार आजदेखि फार्ममा ठूलो अण्डा प्रतिक्रेट ९३० वटाको० ३७० र मिडियमको ३४० रुपैयाँ पुगेको छ। यसअघिको मूल्यमा प्रतिक्रेट ३० रुपैयाँ वृद्धि गरिएको हो। ओलीको भनाइमा चार वर्षअघि अण्डाको मूल्य बढेर प्रतिक्रेट ३६५ रुपैयाँ पुगेको थियो। यसै वर्ष दुई महिनाअघि पनि प्रतिक्रेट अण्डाको मूल्य ३६० रुपैयाँ पुगेकामा केही दिनपछि घटेको थियो।

एच ९ र रानीखेत रोगका कारण झण्डै २५ प्रतिशत कुखुरा मरेको किसान बताउँछन्। ओलीका अनुसार दैनिक २४ लाख अण्डा उत्पादन हुँदै आएकामा रोगका कारण घटेर १७ लाख हाराहारीमा झरेको छ। अण्डाको उत्पादनमा कमी आएका कारण मूल्य बढ्दासमेत लाभान्वित हुन नसकेको उनको भनाइ छ।

संघका केन्द्रीय अध्यक्ष शिवराम केसीले सरकारले अण्डाको लागत मूल्य ११.५३ रुपैयाँ तय गरे पनि हाल लागत मूल्य बढेका कारण १२.३३ रुपैयाँ हाराहारी अर्थात् अहिलेको वृद्धि मूल्य बराबर पर्न जाने बताउँछन्। दानाको कच्चापदार्थको मूल्य अत्यधिक बढेपछि अण्डाको मूल्य बढेर पनि लाभ लिने अवस्थामा किसान नरहेको केसीको भनाइ छ।

तपाईको प्रतिक्रिया