डिभोर्सपछि विश्वकै दोस्रो धनी महिला बन्दै मेलिन्डा गेट्स

एजेन्सी । पति बिल गेट्ससँगको सम्बन्धविच्छेदपश्चात मेलिन्डा गेट्स विश्वकै दोस्रो धनी महिला बन्ने भएकी छन् । सम्बन्धविच्छेदका लागि मेलिन्डाले वासिङ्टनस्थित किङ काउन्टी उच्च अदालतमा दायर गरेको निवेदनमा पतिको सम्पत्तिको आधा हिस्सा माग गरिएको छ ।

निवेदनमा उनले विश्वका धनीहरुमध्येका एक माइक्रोसफ्ट कम्पनीका सहसंस्थापक बिल गेट्ससँगको आफ्नो वैवाहिक सम्बन्ध अप्रत्याशित रुपमा तोडिएको भन्दै उनको सम्पत्तिको आधा हिस्सा माग गरेकी छन् ।

अदालतले उक्त निवेदनको पक्षमा फैसला गरे मेलिन्डा विश्वको दोस्रो धनी महिला बन्नेछिन् । उनले बिल गेट्सको कुल सम्पत्ति १४६ बिलियन डलरको आधा ७३ बिलियन डलर पाउनेछिन् । विश्वको सबैभन्दा धनी महिला फ्रेङ्कोइस बेटेनकोर्ट मायर्सको सम्पत्ति ८३ बिलियन डलर रहेको छ ।

वासिङ्टनको कानुनानुसार पनि सम्बन्धविच्छेद गर्ने दम्पतीले सम्पत्ति बराबर भाग लगाउनुपर्ने हुन्छ । उनीहरुले विवाहपूर्व ’प्रिनेप्सल एग्रिमेन्ट’ (सम्पत्तिको स्वामित्वसम्बन्धी सम्झौता)मा हस्ताक्षर नगरेकाले पनि मेलिन्डाको पक्षमा फैसला हुने बताइएको छ ।

ब्लुमवर्ग बिलिनियर इन्डेक्सका अनुसार बिल गेट्स विश्वका धनीहरुको सूचीको चौथो स्थानमा छन् । यद्यपि, उनले ठूलो रकम दान नगरेको भए अझै विश्वका धनीहरुको शीर्ष स्थानमा रहेको हुने बताइएको छ । उनले आफ्नो सम्पत्तिबाट ४० बिलियन डलर विल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनलाई दान गरेका छन् ।

यो फाउन्डेसनले विश्वका गरिब देशहरुमा शिक्षा, स्वास्थ्य र लैंगिक समानताका लागि कार्यक्रम सञ्चालन गर्दै आएको छ । आफूहरुले फरक यात्रा तय गरे पनि फाउन्डेसनको परोपकारी काममा भने सहकार्य गरिरहने उनले बताएका छन् । यसअघि, अमेजनका मालिक जेफ बेजोस र मेकेन्जीको डिभोर्सलाई विश्वकै सबैभन्दा महँगो ठहर गरिएको थियो ।

तपाईको प्रतिक्रिया