‘सहरको शोभा बढाउन ग्रिनरी वीरेन्द्रनगर बनाउँदैछौं’

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर सहर क्षेत्रलाई ग्रिनरी (हरीयाली) बनाउन तिब्र गतिले काम भइरहेको छ ।

वीरेन्द्रनगर नगरपालिकाको ग्रिनरी नगर बनाउने अवधारणा अनुसार करोडौं मुल्यका विरुवा रोप्न थालिएको हो । हरीयाली प्रर्वद्धन कार्यक्रम अनुसार हाल भइरहेको कामका आधारमा अबको १÷२ वर्षमै सुन्दर ग्रिनरी वीरेन्द्रनगर देख्न पाइने भएको छ ।

‘ग्रिनरी सहर बनाउने काम जारी छ । ग्रिनरीले वीरेन्द्रनगर सहरको थप शोभा बढ्नेछ’ नगरप्रमुख देवकुमार सुवेदीले भने, ‘जहाँ ग्रिनरी वीरेन्द्रनगरमा आउने पर्यटकदेखि स्थानीयवासी सबैले आनन्द महसुश गर्नेछन् । ग्रिनरी सहरले धुलोधुवाँ हट्नुका साथै स्वच्छ हावा प्रदान हुनेछ ।’

नगरप्रमुख सुवेदीका अनुसार ग्रिनरी वीरेन्द्रनगर बनाउन चालु आ।ब को असार मसान्तसम्म साढे ३ करोड बजेट खर्च गरिदैछ । उक्त बजेटबाट वीरेन्द्रनगरमा हाल निर्माण भइरहेका सबै सडक छेउमा गुलमोहर, तेजपत्ता लगाएतका विरुवा रोपिदैछन् ।

‘फोरलेन र सहरी क्षेत्रका सबै सडकमा विरुवा रोप्दैछौं । नयाँ सडक बनाउँदा जहाँ जहाँ रुख काटिएका छन् । त्यहाँ पनि विरुवा लगाइनेछ’ नेपाली रैबारसँग सुवेदीले भने, ‘सबै विरुवा यहाँ उपलब्ध नहुने भएकाले नेपालगंज र भारतबाट विरुवा खरिद गर्दैछौं । ग्रिनरी सहर बनाउन सडकमा लगाइएका विरुवा संरक्षणमा सबैको साथ आवश्यक छ ।’

नगरप्रमुख सुवेदीका अनुसार हाल निर्माण भएका सडक र विस्तारीत सबै सडकमा विरुवा रोपिने छन् । घण्टाघर, आखाँ अस्पताल, खुलामञ्च क्षेत्रमा ७० लाख बढि बजेटले ग्रिनरी प्रर्वद्धन कार्यक्रम व्यवस्थापन गरिदैछ । भने मंगलगढी चौकदेखि पश्चिम क्षेत्रको फोरलेन सडकमा १ करोड ४० लाख बढि बजेटबाट ग्रिनरी प्रर्वद्धन कार्यक्रम व्यवस्थापन गरिने नगरपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया