पूर्व तयारी गर्न नसक्नु कर्णाली सरकारको गम्भीर कमजोरी : महामन्त्री खड्का

सुर्खेत । कर्णालीमा कोरोना महामारीको भयावह हुने खत्तरा देखेपनि पूर्व तयारी गर्न सक्नु कर्णाली सरकारको कमजोरी भएको नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेका खड्काले रोजगारीका लागि भारत आश्रित नेपाली फर्कन सक्ने पूर्ववत् आँकलन गर्न नसक्नु प्रदेश सरकारको गम्भीर कमजोरी भएको बताएका हुन् ।

‘करिव दुई महिना अघिदेखि भारतमा कोरना महामारिले भयाबह रुप लिन थालेको घटनाले नेपालीहरु भारतबाट तिब्रगतिमा कोरोना सहित प्रबेश गर्न सक्छन् भन्ने बिगतको अनुभवबाट शिक्षा लिनुपथ्र्यो,’ खड्काले लेखेका छन्, ‘प्रदेश राजधानी र जिल्लाका स्थानहरुमा कोरोना महामारिको हटस्पट बन्न सक्छन् भनेर पूर्व तयारी र ब्यबस्था समयमै नगर्नु सरकारको ठूलो कमजोरि मात्र होईन लापरवाही हो ।’

सरकार नागरिकप्रति जिम्मेवार नभएकाले अब आम नागरिकहरुले सरकारका कमजोरी स्वीकार्दै सतर्क र सजग रहन खड्काले अपिल गरेका छन् । ‘नयाँ सरकारले विगतको काम गर्ने तरिका र मानसिकतामा आमुल परिवर्तन गरी प्रदेश सरकारको जुनसुकै कोषमा रहेको रकमलाई प्रयोग गरी कर्णाली प्रदेशका नागरिकको जीवन रक्षालाई प्रथम र अहिलेलाई सरकारको एक मात्र लक्ष्य निर्धारण गरि युद्धस्तरमा सम्पूर्ण ब्यबस्था गर्न सरकार गंभीर बनोस्’ खड्काले भनेका छन् ।

नागरिकको जीवन रक्षा गर्ने काँग्रेस संसदिय दल र सिँगो काँग्रेस पार्टी सरकारको साथमा रहने वचन र बिश्वास खड्काले दिएका छन् । महामन्त्री खड्काले प्रदेशका कोरोना प्रभावित सबै जिल्लाका स्थानमा तत्काल पिसिआर परिक्षणलाई अभियानका रुपमा तिब्रता दिई कन्ट्रयाक्ट ट्रेसिङलाई व्यापक बनाउन सुझाव समेत दिएका छन् ।

उनले अक्सिजन, भेन्टिलेटर र आवश्यक औषधीको अभाव हुन नदिन सबै प्रकार पहुचको प्रयोग गर्न, प्रदेश र जिल्ला अस्पतालहरुमा प्रयाप्त वेडहरुको प्रबन्ध गर्न थप काम गर्न आग्रह गरेका छन् । साथै, विपन्न नागरिकहरुको सबै प्रकारको उपचार निःशुल्क गर्ने व्यवस्था मिलाउन, विरामीको जीवन रक्षा गर्न अहोरात्र खटिएका चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई उत्प्रेरित गर्न थप सुविदा दिन खड्काले माग गरेका छन् ।

‘स्थानिय सरकारहरुलाई प्रदेश सरकारकातर्फबाट थप बजेट उपलब्ध गराएर अभियानमा समन्वयात्मक तरिकाले स्थानीयतहलाई थप क्रियाशिल बनाउने वातावरण निर्माण गरियोस्,’ खड्काले भने, ‘निषेधाज्ञा जारी गरिएका कारणले दैनिक जीवन गुजारा गर्न नसक्ने मजदूर लगायत बिपन्न परिवारहरुलाई बिहान बेलुकाको खाना समेतको ब्यबस्था गर्ने गरी राहत प्याकेजको व्यवस्था गर्नु आवश्यक छ ।’

तपाईको प्रतिक्रिया