माधव नेपालले भने- वार्ता र लचकता दुवै अपनाउँछौं

काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरूले विधिको आधारमा चल्ने सुदृढ र एकताबद्ध एमाले चाहेको बताएका छन्। यसका लागि वार्ता र लचकता दुवै अपनाउने उनले फेसबुकमार्फत् बताएका हुन्।

‘हामी सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सुदृढ र एकताबद्ध एमाले चाहन्छौं किनकी यो हामीले निर्माण गरेको पार्टी हो,’ उनले लेखेका छन्, ‘यसका लागि वार्ता र लचकता दुवै अपनाउँछौं, तर अहिलेसम्म कुनै सहमति भएको छैन।’

उनले २०७७ फागुन २८ गते र तत्पश्चात बसेका कथित बैठकहरू र त्यसले गरेका निर्णयहरू फिर्ता लिनुपर्ने माग गरेका छन्। ‘२०७५ जेठ २ गतेको कमिटी, विधान र नेतृत्व नै हाम्रो बटम लाइन हो,’ उनको भनाइ छ, ‘यस सम्बन्धमा कुनै किसिमको भ्रममा नपर्न , नअल्मलिन र सुदृढ र सशक्त पार्टी बनाउने महान अभियानमा लागिरहन आह्वान गर्दछौं।’

तपाईको प्रतिक्रिया