जसपामा २–२ सांसदले कित्ता फेरे– विपक्षमा १५ मत खस्दा १५ जना नै तटस्थ !

प्रतिनिधि सभाबाट विश्वासको मत लिने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । यससँगै प्रधानमन्त्री पद स्वत: रिक्त भएको छ ।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिन चाहेपछि प्रतिनिधि सभाको सोमवारको बैठकमा मत विभाजन भएको थियो । यसक्रममा जनता समाजवादी पार्टीबाट कुल ३० मत खसेकोमा विपक्षमा १५ र तटस्थमा समान १५ मत खसेको छ।

पूर्व राजपा र पूर्वसपा खेमाका समान १६/१६ जना सांसद रहेकोमा जम्मा ३० सांसद उपस्थित थिए । जसपाका कुल ३२ सांसदमध्ये २ जना लक्ष्मणलाल कर्ण र रुही नाज अनुपस्थित थिए। विपक्षमा मतदान गर्ने पूर्व सपा खेमाका दुई सांसद तटस्थ बसेका छन् ।

सांसद उमाशंकर अरगरिया र विमल श्रीवास्तव तटस्थ बसेका हुन् । पूर्व राजपाका पनि दुई जनाले महेन्द्र राय यादव र चन्द्रकान्त चौधरी विश्वासको विपक्षमा मतदान गरेका छन् । अनुपस्थित हुनेमध्ये एक लक्ष्मणलाल कर्ण राजपा खेमाका हुन् भने रुही नाज सपा खेमाकी हुन् ।

संसदीय दलमा रुही नाज पनि आफ्नो खेमामा रहेकाले अनुपस्थित दुवैजना सांसदलाई जोडेर आफ्नो पक्ष बहुमतमा रहेको महन्थ पक्षको दाबी छ।

तपाईको प्रतिक्रिया