ओली जेठ २ मा फर्कन तयार भए : माधव नेपाल

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओली २०७५ जेठ २ बाट अघि बढ्न सहमत भएको बताएका छन्।

बिहीबार भएको दुई नेताको छलफलमा ओली फागुन २८ गते केन्द्रीय समितिको बैठकबाट भएका निर्णय फिर्ता लिन पनि सहमत भएको बताए। संघीय संसद भवनमा शुक्रबार कोरोनाविरुद्धको खोप लगाएपछि पत्रकारहरूसँग उनले आफूहरूको बटम लाइनअनुसार नै ओली अगाडि बढ्न तयार भएको बताए।

‘फागुन २८ गतेको निर्णय फिर्ता लिने र जेठ २ गतेको अवस्था फर्काउने हाम्रो बटमलाईन थियो। त्यसमा ओलीजी सहमत हुनुभएको छ। पार्टी मोडालिटीको बारेमा छलफल गर्ने भन्नुभएको छ। उनले भने, त्यसमा पनि केही स्पष्टताको आवश्यकता पर्ला। छलफल गरेर टुंगो लगाउँछौं।

अध्यक्ष ओलीले मनोमानी ढंगले पार्टी चलाएको, संविधान विपरित प्रतिनिधिसभा विघटन गरेर प्रतिगामी कदम चालेको भन्दै खरो विरोधमा उत्रिएका नेता नेपाल समूहले ओली सरकारको विरुद्ध बन्न लागेको संयुक्त सरकार गठन प्रक्रियालाई सघाइरहेको थियो ।

नेता नेपाल समुहका सांसदहरु प्रधानमन्त्रीले विश्वासको मत लिने बैशाख २७ गतेको दिन प्रतिनिधिसभाको बैठकमा पनि अनुपस्थित भएका थिए। तर संयुक्त सरकार गठनका लागि दिईएको समय सकिनै लाग्दा अध्यक्ष ओली र नेता नेपालबीच नाटकीय ढंगमा सहमति भएको थियो ।

सोही सहमति अनुसार नेपाल पक्षले प्रधानमन्त्री ओलीलाई नै समर्थन गर्ने भएपछि संसदमा ठूलो दलको हैसियतले शुक्रबार प्रधानमन्त्रीमा पुन ओली नै नियुक्त भएका छन्।

तपाईको प्रतिक्रिया