सडकमा मकै पोल्नेलाई निषेधाज्ञाले छेकेन

रोग भन्दा भोकको चिन्ता

सुर्खेत । जेठको प्रचण्ड गर्मी ! सडकका रुखको छहारी ! मध्यदिउसोको टण्टलापुर घाममा तप्प–तप्प पसिना चुहाउँदै आ–आफ्नो काममा व्यस्त उनीहरु । सडकमा कोही मकै पोल्दै थिए । त, कोही काक्रा, आरुपखरा र केरा बेच्दै थिए । उनीहरुलाई न कोरानाको डर थियो । नत निशेधाज्ञाको त्रास नै । यो दृष्य हो, कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरदेखि करिव २५ किलोमिटर पश्चिममा पर्ने बराहताल गाउँपालिका स्थित हुर्केको ।

निषेधाज्ञाको अवधिमा हिजोआज हुर्के गाउँका महिलाको दिनचर्या यसरी नै बितेको छ । आफु र आफ्नो परिवारको पेट पाल्न अर्थात घरखर्च चलाउन सिजन अनुसार सडकमा मकै पोलेर बेच्ने, बारीमा फलेका काक्रा, केरा लगाएत फलफुल तथा तरकारी बेच्ने हुर्केका बेरोजगार महिलाको पेशा हो । हुर्केका महिलालाई कोरोना लगाएतका रोग भन्दा भोकको चिन्ता बढि छ । उनीहरुलाई दिनभर यसरी काम नगरे घर खर्च चल्दैन ।

‘सुर्खेतमा निषेधाज्ञा छ । कोरोना माहामारीले पनि सताएको पनि छ भन्ने थाहाँ छ । तर घरमै बसेर खर्च चल्दैन’ स्थानीय खगिसरा महताराले भनिन्, ‘केही बर्ष यता म यही सडकमै बसेर मकै पोल्दै बेच्दै आएकी छुँ । यहीबाट उठेको पैंसाले म र मेरो परिवारको खर्च चल्छ । त्यसैले रोग भन्दा भोक पहिलो ठान्छुँ ।’ खगिसरा मकै बचेर दैनिक तीन हजारसम्मको कारोवार गर्छिन । प्राय घरकै काममा व्यस्त रहेने उनी सिजनका बेला मकै, काँक्रा, आरुपखरा तथा केरा बेचेर मनग्य आम्दानी गर्दै आएकी हुन् । सोही रकमबाट उनी घरखर्च तथा छोराछोरीको पढाई खर्च कटाएर केही रकम बचत समेत गर्दै आएकी छन् ।

कोरोना संक्रमणको जोखिम छ । बाहिरबाट आउने जो सुकैलाई मकै बेच्नुहुन्छ । डर लाग्दैन ? भन्ने प्रश्नमा उनको जवाफ थियो । ‘हामीलाई रोग भन्दा पहिले भोक मेटाउने चिन्ता छ । त्यसैले म मेरो मटियार (कुलदेवता)को विश्वास लिएर काम गरिरहेकी छुँ । गत साल कोरोना महामारीका बेला पनि कुखुरा चढाएर मटियारलाई खुसी पार्यौ । त्यसैले कोरोनाको त्रास भएपनि देवता सम्झीएर जोखिममा मकै पोल्दै बेच्दै आएकी छुँ ।’

खगिसरा जस्तै हुर्केका अन्य महिलाको सामुहिक जवाफ उस्तै उस्तै थियो । उनीहरु कर्म र धर्ममा विश्वास राख्छन् । स्थानीय बसन्ती शाहीका अनुसार कोरोना माहामारीले अन्य क्षेत्र ठप्प छन् । यो बेला अन्य कुनै काम पाइदैन । पेट पाल्नकै लागि निषेधाज्ञाको बेला पनि चर्को गर्मीमा सडकमा बसेर मकै पोल्ने, तरकारी तथा फलफुल बेच्नु हुर्केका महिलाहरुलाई बाध्यता छ ।

‘गाउँमा कृषियोग्य जमिन पर्याप्त छ । सिजन अनुसार मकै, केरा, काँक्रा, आरुपखरा, नास्पती, मौसमी तथा बेमौसमी तरकारी राम्रै उत्पादन हुन्छ । घरमा खपत भएर बचेको सबै उत्पादन यसरी नै बेच्छौं’ उनले भनिन्, ‘आफ्नो घर खर्च संचालनका लागि सडक यात्रुको भोक मेटाइरहेका छौं ।’ एकातिर कोरोना संक्रमणको दोस्रो भेरियन्टको लहर समुदायस्तरसम्म फैलिदैछ । अर्कोतिर स्थानीयवासीलाई काम नगरी खान पुग्दैन ।

यस कारण चल्छ व्यापार

कर्णाली राजमार्गको यात्रामा गर्नेहरु हुर्के हुँदै सुर्खेत पश्चिमसहित कर्णालीका अन्य जिल्ला र सुदुरपश्चिमको अछाम प्रवेश गर्छन् । अध्ययन, रोजगारी, व्यापार व्यवसाय तथा अन्य प्रयोजनका लागि सुर्खेत, नेपालगंज र भारत पुगेका सयौं नागरिकहरु दैनिक यही बाटो हुदै गृह जिल्ला प्रवेश गर्दछन् । निशेधाज्ञाका कारण अन्य व्यापार व्यवसायसँगै होटलहरु बन्द छन् ।

बाटोमा यात्रुलाई भोक लागेको ठाउँमा सजिलै खान पाउने स्थिती छैन । त्यसकाराण पनि हुर्के पुगेपछि जो सुकैले त्यहाँका महिलाले सडकमा आगोबालेर पोलेका मकै किनेर खाने गर्दछन् । तरकारी तथा फलफुल किनेर लैजान्छन् । तीनै भोका यात्रुको थोरै भएपनि भोक, प्यास मेटाउन गरी हुर्केका महिलाले आफ्नो व्यापार चलाएका छन् ।

सदाबहार चिसो मौसम रहने हुर्केमा चिसो पानीसमेत खान पाईन्छ । अन्य समयमा पनि यात्रुहरु चिसो पानी खानैका लागि भएपनि हुर्केमा गाडि रोकेर आरा मगर्दछन् । निशेधाज्ञाका कारण दैनिक ज्याला मजदुरी गर्नेहरु भने बढि प्रभावित भएका छन् ।

तर यी महिलाहरु भने आफ्ना बारीमा उत्पादीत बस्तु बेचर सजिलै घरखर्च चलाइरहेका छन् । बिहानै उठेर आफ्ना बारीमा भएका मकै, काँक्रा तथा आरुपखरा टिपेर डोकोमा बोक्दै सडक छेउमा पुगेर व्यापार गर्ने आफ्नो कर्मप्रति यहाँका महिलालाई गौरब छ । तर कोरोना माहामारीको बेला यसरी व्यापार गर्दै आएका महिलाहरु भने आफुले स्वास्थ्य मापदण्ड पुरा गर्दै ग्राहकलाई पनि मापदण्ड पालना गर्न सुझाइरहेका छन् ।


error: Alert: Content is protected !!