‘राधे’ बन्यो, ६५ भन्दा बढी देशका टिभीमा लाइभ हुने पहिलो बलिउड फिल्म

मुम्बई । सलमान खान अभिनित पछिल्लो फिल्म ‘राधे योर मोस्ट वान्टेड भाइ’ इन्टरनेट मार्फत रिलिज भएको पहिलो दिनमै ४२ लाख भन्दा बढी पटक हेरिएको थियो ।

यो सफलता फिल्मका लागि मात्र होइन उद्योगको लागि पनि महत्वपूर्ण मानिएको छ । फिल्मले अर्को एउटा सफलता पनि हासिल गरेको छ । फिल्म अफ्रिका, एशिया तथा यूरोप जस्ता महादेशहरूका ६५ भन्दा बढी देशहरु जस्तै बेल्जियम, डेनमार्क,क्यानडा, फिजी, मलेशिया, श्रीलंका, दक्षिण अफ्रिका र मोरीशसमा एप्पल टिभी (आईट्यून्स) मार्फत लाइभ प्रसारण हुने पहिलो बलिउड फिल्म बन्न सफल भएको छ ।

निर्माताले यो फिल्म आगामी दिनमा अन्य क्षेत्रहरुमा समेत प्रसारित गर्दैछन्, जसमा गुगल प्ले, सिंगापुरमा सिंगटेल, अफ्रिकामा माइ मूभिज जस्ता विभिन्न प्लेटफर्ममा एकसय भन्दा धेरै देशहरुसम्म पुर्याइने छ ।

फिल्म एप्पल टीभीबाहेक क्यानाडामा बेल फाइभ टिभी र अप्टिक टिभी, अफ्रिकामा बक्स–अफिस डीएसटिभी र क्यारेबियनमा फ्लो अन डिमान्डका साथ प्रिमियम भिडियो अन डिमान्डमा जी फाइभजस्ता प्लेटफर्ममा पनि लाइभ भैरहेको छ । भारतीय फिल्मको इतिहासमा विभिन्न प्लेटफर्मबाट विश्वभरका दर्शकमाझ पुग्ने यो पहिलो फिल्म भएको छ ।

राधेको सफल प्रदर्शनपछि सलमान खान फिल्मस् तथा जी स्टुडियोले संयुक्त रुपमा हिन्दी फिल्म उद्योगमा अन्ततः महामारीको बीचमा समेत आफ्नो फिल्म प्रदर्शन गर्ने एउटा सफल समाधानको खोजी गरेका छन् । विश्वभरका दर्शकहरुको प्रेम तथा प्रशंसकहरुको साथले यो फिल्मले इतिहास रच्ने तयारीमा छ ।

भारत बाहिर कतिपय देशहरुमा यो फिल्म सुरक्षा मापदण्डहरु अपनाउँदै फिल्म हलमै पनि प्रदर्शन भैरहेको छ । संयुक्त अरब इमिरेट्समा यो फिल्म पहिलो साता एक नम्बरमा थियो । यसले हलिउडका फिल्मभन्दा राम्रो ओपनिङ पाएको दावी गरिएको छ । १३ मे अर्थात ईदको अवसर पारेर रिलिज गरिएको फिल्ममा सलमान खानसहित दिशा पाटनी, ज्याकी श्राफ तथा रणदीप हुड्डाको मुख्य भूमिका रहेको छ ।

तपाईको प्रतिक्रिया