युरोकपका लागि रोनाल्डोको कप्तानीमा पोर्चुगलको टोली घोषणा

एजेन्सी । रोनाल्डोको कप्तानीमा आसन्न युरोकपको लागि डिफेन्डिङ च्याम्पियन पोर्चुगलको टोली घोषणा भएको छ ।

पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोषले अनुभवी र युवा खेलाडीलाई समेट्दै २६ सदस्यीय टोली घोषणा गरेका हुन् । प्रशिक्षक सान्तोषले भेट्रान रोनाल्डोसँगै पेपे, रुइ प्याट्रिसियो र जोओ मौटिन्होलाई टोलीमा समेट्दा युवा खेलाडी जोआओ फेलिक्स, पेड्रो नेटो र डिएगो जोटालाई पनि टोलीमा समेटेका छन् ।

प्रशिक्षक सान्तोषको टोलीमा इंग्लिस क्लब वल्भ्सबाट सबैभन्दा बढी चार खेलाडीले स्थान बनाएका छन् । पोर्चुगिज क्लब स्पोर्टिङ सिपी र इंग्लिस क्लब म्यानचेस्टर सिटीबाट समान तीन खेलाडी टोलीमा पर्दा फ्रेन्च क्लब लिलबाट दुई खेलाडी परेका छन् ।

युभेन्टस स्टार रोनाल्डो प्रतिभावान युवा खेलाडीले भरिएको खेलाडीले घेरिएको छ । सोही कराण पोर्चुगललाई युरोकप रक्षा गर्नुपर्ने दवाव छ । सन् २०१६ मा फ्रान्सलाई अतिरिक्त समयमा १–० ले हराएर उपाधि जितेको पोर्चुगललाई यो सिजन पनि उपाधिको दावेदार टोलीको रुपमा हेरिएको छ ।

समूह ‘एफ’ मा रहेको पोर्चुगलले १५ जुनमा हंगेरीसँग खेल्नेछ । त्यसपछि १९ जुनमा जर्मनी तथा २३ जुनमा फ्रान्ससँग खेल्ने तालिका छ । त्यसअघि पोर्चुगलले ४ जुनमा स्पेन र ९ जुनमा इजरायलसँग मैत्रीपूर्ण खेल खेल्ने तालिका छ ।

तपाईको प्रतिक्रिया