नेपाली कांग्रेसको आकस्मिक बैठक बस्दै

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गर्दै मध्यावधि निर्वाचन घोषणा गरेपछि नेपाली कांग्रेसको आकस्मिक बैठक बस्ने भएको छ।

नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाश शरण मतले मध्यरातमा संविधान मास्ने कार्य भएको भन्दै अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न बैठक बस्ने जानकारी दिए। बैठक शनिबार विहान बस्ने भएपनि समय तय भइनसकेको उनले बताए।

राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गर्दै मध्यावधि निर्वाचन घोषणा गरेपछि नेपाली कांग्रेसका नेताहरुले सामाजिक सञ्जालमार्फत उक्त कदमको बिरोध गरेका छन्।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले महामारीमा मृत्युसँग जुधिरहेका जनतालाई निर्मम उपहारको रुपमा मध्यावधि दिइएको बताएका छन्। ट्विटरमार्फत धारणा सार्वजनिक गर्दै उनले सिंगो महाभारतको सार भन्दै लेखेका छन्- `अहंकारको वृक्षमा विनाशको फल लाग्छ।´ उनले जनता पछि होइन अघि हुनेछन् भन्ने चेतावनी पनि दिएका छन्। ‘जीत जनताको हुनेछ, लोकतन्त्रको हुनेछ र संविधानलाई पुनर्जीवन दिइनेछ’, उनले लेखेका छन्।

कांग्रेस नेता शेखर कोइरालाले राष्ट्रपतिको कदमले देशलाई कहालीलाग्दो द्वन्द्वमा लगेको बताएका छन्। ‘आफ्नो पदको गरिमा र मर्यादा कुल्चेर संविधानको संरक्षक राष्ट्रपतिबाट मध्यरातमा फेरि पनि संविधान च्यात्ने काम भयो। राष्ट्रपतिको गैरसंवैधानिक र गैरराजनीतिक कदमले देशलाई कहालिलाग्दो द्वन्द्वमा लगेको छ। संविधानलाई समाप्त गर्ने काम भएको छ। राष्ट्रपतिको यो कदम कदापि क्षम्य हुनै सक्दैन’, उनको धारणा छ।

कांग्रेसकै नेता रमेश लेखेकले राष्ट्रपतिबाट गणतन्त्र र लोकतन्त्रको संरक्षण हुननसक्ने ठोकुवा गरेका छन्। ‘राष्ट्रपतिजीले फेरि आफ्नो पदको सम्मान, मर्यादा र गरिमा समाप्त गर्दै संविधान च्यात्ने काम गरिन्। यिनबाट गणतन्त्र र लोकतन्त्रको संरक्षण हुन सक्दैन’, उनको भनाइ छ।

शुक्रबार मध्यरातमा बसेको मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार राष्ट्रपति भण्डारीले शनिबार बिहान १: ४९ बजे सूचना प्रकाशित गरेर कात्तिक २६ र मंसिर ३ गतेका लागि निर्वाचनको मिति तय गरिएको जानकारी गराएकी थिइन्।

त्यसअघि संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीको लागि परेका दुईवटा दाबीलाई राष्ट्रपति भण्डारीले अस्वीकार गरेकी थिइन्। दलीय हस्ताक्षर बुझाएका प्रधानमन्त्री केपी शर्मा ओली र सांसद्हरुको हस्ताक्षर बुझाएका शेरबहादुर देउवाको दाबीलाई उनले अस्वीकृत गरेकी हुन्।

तपाईको प्रतिक्रिया