संक्रमितको घरमै पुगेर औषधि र काेराेना कीट वितरण

सुर्खेत । होम आइसोलेसनमा रहेका कोरोना संक्रमितको घरमै पुगेर औषधि तथा स्वास्थ्य सामग्री वितरण गर्न थालिएको छ । वीरेन्द्रनगर नगरपालिकाले संक्रमितको घर दैलोमै पुगेर स्वास्थ्य सेवा दिन शुरु गरेको हो ।


नगर प्रमुख देवकुमार सुवेदी, उपप्रमुख मोहनमाया ढकाल, वडा सदस्यहरु र कर्मचारीले संक्रमितहरुको घर–घरमा पुगेर आवश्यक औषधी र अन्य स्वास्थ्य सामग्री वितरण गरेका छन् । नगरपालिकाले पारासिटामोल, जिंक चक्की, एजिथ्रोमाइसीन, भिटामिन बी र सी, जीवनजल, सावुन, कोलगेट, ब्रससहितको ‘कोरोना कीट’ तयार परेको छ ।

संक्रमितहरुको घरमै पुगेर विरामीहरुलाई आवश्यक औषधि र परामर्श दिने गरिएको नगर प्रमुख देवकुमार सुवेदीले जानकारी दिए । उनकाअनुसार जनप्रतिनिधिहरु र स्वास्थ्यकर्मीहरुको टोली लिएर संक्रमितको अवस्था बुझ्ने तथा औषधि लगायतका सामग्री वितरणमा जुटेका हुन् ।

पछिल्लो तथ्याङ्कअनुसार वीरेन्द्रगरमा सक्रिय संक्रमितहरुको संख्या एक हजार ६ सयभन्दा बढी छ । प्रदेशभर सबैभन्दा बढी कोरोना संक्रमित वीरेन्द्रनगरमा छन् । स्वास्थ्य सामग्री दिनेसँगै स्वास्थ्य मापदण्ड पालना गरे÷नगरेको अनुगमन पनि गर्ने गरिएको नगरपालिकाले जनाएको छ ।

कोरोना संक्रमितहरु होम आइसोलेसनमा बस्ने नगरेको, संक्रमण लुकाएर घुम्ने गरेकोलगायतका गुनासाहरु आउन थालेपछि नगरपालिकाले कोरोा किटसँगै अनुगमनलाई पनि तिव्रता दिएको हो । संक्रमितको घरमै पुग्ने स्वास्थ्य टोलीले बिरामीको अक्सिजन लेभल नियमित चेकजाँच गर्छ ।

अक्सिजनको मात्रा कमी भएकाहरुलाई आफैले सञ्चालन गरेको नगर अस्पतालमा ल्याएर उपचार थाल्ने गरिएको उपप्रमुख मोहनमाया ढकालले जानकारी दिइन् । ‘अक्सिजनको मात्रा कमी भएकाहरुलाई नगर अस्पतालमा ल्याएर उपचार थाल्ने गरिएको छ,’ ढकालले भनिन्, ‘संक्रमितहरुको मनोबल बढाउनुका साथै स्वास्थ्य उपचारमा सहजता र जनचेतनाका लागि घरदैलो अभियानलाई निरन्तरता दिएका हौं ।’

नगरपालिकाले हरेक हप्ताको सोमबार, बुधबार र शुक्रबार निःशुल्क पीसीआर परीक्षण गरिरहेको छ । संक्रमण बढी देखिएका वडा नम्बर २, ३, ८ र १२ मा एन्टीजेन परीक्षणलाई पनि तिव्रता दिइएको छ । नगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवासहितको २५ बेडको कोभिड अस्पताल समेत सञ्चालन गरिरहेको छ ।

तपाईको प्रतिक्रिया