चुनाव हुँदैन र गराइँदैन भन्ने प्रचार निराधार : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले कात्तिक २६ र मंसिर ३ का लागि तोकिएको निर्वाचन समयमा नै हुने दाबी गरेका छन्। गणतन्त्र दिवसको अवसरमा शनिबार जंगीअड्डाबाट सम्बोधन गर्दै उनले आवधिक निर्वाचन लोकतन्त्रको आधारभूत पक्ष भएको बताए।

‘निर्वाचनले जनादेशलाई पुनर्ताजगी गर्न र निर्वाचनपछि बन्ने सरकारलाई सुदृढ बनाउन जनअपेक्षाअनुसार काम गर्न उत्प्रेरित गर्दछ।यसै अभिप्रायका साथ आगामी कात्तिक २६ र मंसीर ३ गते दुई चरणमा आम निर्वाचन सम्पन्न गर्ने घोषणा भएको छ । यतिबेला चुनाव हुँदैन र गराईँदैन भन्ने भ्रमपूर्ण प्रचार तथा चुनाव स्वतन्त्र र निश्पक्ष हुँदैन भन्ने कुप्रचार दुवै अत्यन्त निराधार छन् । यस्ता दुश्प्रचारको भ्रममा नपर्न म सबैमा आह्वान गर्दछु’, उनले भने।

उनले जनता बाहेक कुनै पनि तागतले कसैलाई सत्ताको केन्द्रमा पर्‍याउने र कसैलाई सत्ताबाट खसाल्ने परिभाषा र अभ्यासलाई लोकतान्त्रिक गणतन्त्रले आत्मसात गर्न नसक्ने बताए। ‘हाम्रो गणतन्त्रले प्रणालीका छिद्रहरु खोजेर कसैलाई सत्तामा चढाउने र कसैलाई झार्ने खेलमा समय व्यतीत गर्ने होइन, गरिबी र पछौटेपन विरूद्धको लडाईँ जित्नुपर्ने छ। जनता मजबुत हुँदा स्वतः लोकतन्त्र मजबुत हुने प्रत्याभूतिको बाटोमा हामी छौँ। राजनीतिक झगडा/लडाइँका मुख्य विषयमा जनतालाई न्यायाधीश बनाएर जनताको अभिमतलाई सर्वोपरी मान्दै अग्रसर रहन म सबैलाई आग्रह गर्न चाहन्छु’, उनले भने।

तपाईको प्रतिक्रिया